स्तरोन्नतिको कार्यका लागि आजदेखि मनकामना केबुलकार करिब ५० दिन बन्द
थानकोट ।
नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकार आजदेखि करिब ५० दिनका लागि बन्द हुने भएको छ ।
एनालग प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न केबुलकार सेवा स्थगित गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
केबुलकार स्थापनाको २६ वर्षपछि मुख्य केबुलको लठ्ठा फेर्न लागिएको हो ।
स्तरोन्नति कार्यका लागि सात जना दक्ष प्राविधिक अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट चेरेस पुगिसकेका छन् ।
केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ ।
करिब ५० दिनको मर्मत तालिका बनाइएपनि सो कार्य निर्धारित तालिका अगावै पूरा गर्ने लक्ष्य मनकामना दर्शन प्रालिले राखेको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको हो ।
केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेशन) मा रहेको रेष्टुरेन्ट सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
केबुलकार बन्द भए पनि ग्रामीण सडकको प्रयोग गरेर मनकामना दर्शन गर्न जान सकिन्छ ।













