चन्द्रागिरि केबलकार नजिकै हाेटलमा पार्किङ गरिएका ५ माेटरसाइकलमा आगजनी, तीनवटा ध्वस्त
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर-४ थानकाेटस्थित चन्द्रागिरि केबलकारकाे बटम स्नटेशनजिकैको एक हाेटल हातामा पार्किङ गरि राखिएका माेटरसाइकलमा आगजनी गरिएको थाहा भएको छ ।
आगलागीबाट तीनवटा माेटरसाइकल ध्वस्त भएको र दुईवटामा सामान्य क्षति पुगेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
होटल रोयल चन्द्रागिरिमा शुक्रबार राति साे घटना भएको बताइएको छ।
बागमती प्रदेश-०४२-३२०४ नम्बरको मोटरसाइकल, बा. ६१ प ४०९० र बा. ५४ प ३८११ नम्बरको स्कुटर पूर्णरूपमा जलेको छ भने बा. ४५ प ६६२५ नम्बरको मोटरसाइकल अर्काे एक मोटरसाइकलमा सो आगजनीबाट क्षति पुगेको छ।
प्रहरी वृत्त थानकोटका अनुसार प्रारम्भिक अनुसन्धानले राति १ बजेर २० मिनेटको समयमा साे घटना भएको देखिएको छ।
घटनास्थल वरपर उपलब्ध क्लोज सर्किट क्यामेरा फुटेजहरु अध्ययन गर्दा सो घटनामा एउटा माेटरसाइकल र चार जनाकाे संलग्नता देखिएको प्रहरीको भनाइ छ।
पार्किङ क्षेत्र बाहिरबाट ज्वलनशील पदार्थ ती माेटरसाइकल भएको स्थानमा फ्यालिएकाे ती क्यामेरामा कैद भएको देखिएको प्रहरी वृत्त थानकोटले जनाएको छ।
घटनाका सम्बन्धमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














