अर्थ समितिमा सांसद्हरूको प्रश्न ‘चन्द्रागिरि हिल्सको शेयर मूल्य किन यति धेरै बढ्यो ?’
थानकोट ।
संसद्को अर्थ समितिमा सांसद्हरुले नेप्सेमा सूचीकृत कम्पनीहरुको नामै तोकेर त्यसको बढ्दो मूल्यप्रति आपत्ति जनाएका छन् । अर्थसमितिमा बोल्ने क्रममा सांसद्हरूले चन्द्रागिरि हिल्स, आँखुखोला जलविद्युत कम्पनी, दिव्यश्वरी हाइड्रोलगायतका कम्पनीहरुको नाम नै तोकेर त्यस्ता कम्पनीको सेयर मूल्यमा अस्वभाविक मूल्य वृद्धि भएको बताएका हुन् ।
सेयर बजारमा इन्साइडर ट्रेडिङ र चलेखल भइरहेको भन्दै इन्साइडर ट्रेडिङकै कारण बजार अस्वभाविक रुपमा उचालिएको सांसद्हरुको भनाइ छ ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले चन्द्रागिरि हिल्स, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सिएचडिसीलगायत कम्पनीमा इन्साईडर गरेर सेयर मूल्य बढाइएको भन्दै त्यसको अनुगमन गर्न माग गरेका छन् ।
समितिका बोल्ने क्रममा पछिल्लो समय घाटामा रहेका र शेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका सिमेन्ट कम्पनीहरुको मूल्यमा समेत अस्वभाविक रुपमा चलखेल भएको भन्दै प्रश्न उठाएका थिए ।














