आज नागपञ्चमी, वर्षायाम समाप्त भएर हिउँद सुरु हुने दिन

Thankot Times

थानकोट ।

श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात नाग वा सर्पको पूजा गर्ने दिन हो ।

यस दिन बिहानै उठि स्नान गरी दिप, कलश, गणेश पूजा गरि गोबरको नाग बनाई नागको मानचित्रमा दही, दूबो, कुश, सिन्दुुर, चन्दन आदीले पूजा गरि ढोकामा टाँस्नाले सर्प वा नागको भय हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलि, कर्कट, शंखनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । नागको चित्र टाँसिएको घरमा चट्याङले नपर्ने, आगो तथा सर्पको भय नहुने  धार्मिक आस्था तथा विश्वास रहिआएको छ ।

यसदिन नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ । नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ ।

श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउँद सुरु भएको मानिन्छ ।

ज्योतिष शास्त्रीय मान्यता अनुसार नागपञ्चमीको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हेर्नु पर्दैन् भन्ने विश्वास रहँदै आएको छ भने कुनै घर वा संरचना निर्माण गर्दा भूमिमा नाग देवाताको बास भए विधिवत रुपमा पूजा आजा गरि पन्छाए नागको दोषबाट मुक्त हुन धार्मिक मान्यता रहिआएको छ ।

यसदिन देशका विभिन्न नाग मन्दिर तथा पोखरीहरूमा विशेष पूजाअर्चना हुने गर्दछ ।

यो धार्मिक विधिविधान कुनै आडम्बर होइन । अन्धविश्वास होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानव लगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट प्राणघातक रोगका लागि औषधी बन्ने वैज्ञानिक तथ्य पनि छ । यसैले सर्प रहेमात्र हामी मान्छे जीवित र स्वस्थ रहन सक्छौं । मान्छे मात्र होइन, चराचर जगतको सन्तुलन मिल्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *