थानकोट सुरु भएको यू-२० महिला भलिबल प्रशिक्षणमा उत्साहजनक सहभागिता
थानकोट ।
चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित कभर्डहलमा शुक्रबारबाट सुरु भएको भलिबल प्रशिक्षणमा उत्साहजनक सहभागिता देखिएको छ ।
चन्द्रागिरि नगरका १० देखी २० वर्ष उमेर समुहका किशोरीहरूका लागि लक्षित गरी सो प्रशिक्षण सुरु गरिएको बताइएको छ ।
नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्ण प्रसाद खड्गीले राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीलाई भलिबल हस्तान्तरण गर्दै प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सो क्रममा संक्षिप्त मन्तव्य राख्नुहुँदै प्रवक्ता खड्गीले थानकोटमा सुरु गरिएको भलिबल प्रशिक्षण कार्यक्रमले भविष्यमा नेपालका लागि खेल्ने अब्बल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बताउनुभयो ।
चन्द्रागिरि नगरपालिकाले खेलकुदका हरेक गतिविधिहरूलाई प्राथमिकता दिँदै आएको बताउनुहुँदै उहाँले खेल र खेलाडीको क्षेत्रमा नगरपालिकाले सम्भवम भएसम्मको बजेट व्यवस्थापन गरिरहेको धारणा राख्नुभयो । नगरका अन्य क्षेत्रमा समेत विभिन्न खेल गतिविधिहरूका लागि प्रशिक्षणका कार्यक्रम सुरु हुने लागेको उहाँको भनाइ थियो ।
सो प्रशिक्षणमा प्रतिभा माली तथा राष्ट्रिय प्रशिक्षक एवं न्यू डायमण्ड स्पोर्ट्स एकेडेमीका प्रशिक्षक कुमार राईले प्रशिक्षण दिने बताइएको छ । प्रशिक्षणको दोश्रो दिन आज ४० जना भन्दा धेरैले सहभागिता जनाएको कार्यक्रम संयोजक प्रचण्डमान गोपालीले जानकारी दिनुभयो ।














