पुराना कागजात खोज्न सेवाग्राहीले दुःख पाएपछि अभिलेख डिजिटलाइज्ड गर्दै चन्द्रागिरि वडा नं. ४
थानकोट ।
२०७२ सालको प्रलयकारी भूकम्पले साबिक थानकोट गाविसको भवन भत्कियो ।
चन्द्रागिरि वडा नं. ३ र ४ को संयुक्त भवन भत्किएपछि कार्यालयको गोदाममा राखिएका कागजात समेत भग्नावशेषले पुरिए, स्थानीयको सहयोगमा केही अवधिपछि जेनतेन ती कागजात नजिकैको भवनमा सारियो ।
त्यो बेलासम्म गोदामका पुरिएका कागजात मक्किइसकेका थिए भने कतिपय कागजात पानी भिजेर अक्षर नै नदेखिने भए । स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको अग्रसरतामा नगर क्षेत्रमै पहिलो वडा कार्यालयको भवन बन्यो ।
अनि ती पुराना कागजात वडा कार्यालयमा सारियो ।
मुख्यतः व्यक्तिगत घटना दर्ता, घर बाटो सिफारिस लगायतका कागजातका कार्यालयप्रतिका चाङले अहिले चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित वडा कार्यालयको सभा कक्षमा राखिएका दराज भरिएका छन् ।
कोही सेवाग्राहीले पुराना अभिलेख आवश्यक परेमा त्यही दराजमा राखिएका कागजातका बन्डल खोज्दैमा दिन बित्ने गरेको छ ।
यसैबीच सेवाग्राहीले पुराना अभिलेख खोज्न सास्ती पाउन थालेपछि वडा कार्यालयले ती अब अभिलेख डिजिटलाइज्ड गर्ने तयारी गरेको छ ।

चन्द्रागिरि नगरपालिका ३ र ४ को छुट्टाछुट्टै कार्यालय हुनुअघि सम्मका कागजात सगोलमा राखिएकोले ती सबै कागजात डिजिटलाइज्ड गर्ने वडा कार्यालयको तयारी रहेको वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्ण प्रसाद खड्गीको भनाइ छ ।
साबिक थानकोट गाउँ विकास समिति हुँदासम्मका सबै कागजातको अभिलेख डिजिटलाइज्ड गर्ने योजना छ, तर पनि कतिपय कागजात नाजुक अवस्थामा रहेकोले तीनको डिजिटलाइज्ड सम्भव देखिएको छैन्, हामी सकभर सबै कागजात डिजिटलाइज्ड गर्ने अभियानमा छाैं हेराैं कति सफल भइन्छ उहाँले भन्नुभयो ।
सेवाग्राहीलाई समयानुकुल चुस्त र छिटो सेवा दिन पर्ने परिपेक्ष्यमा पुराना कागजात खोज्दैमा कर्मचारी तथा सेवा ग्राहीको समय बितेपछि अभिलेख डिजिटलाइज्डको सोंच अघि बढाइएको वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्ण प्रसाद खड्गीको भनाइ छ ।
चन्द्रागिरि नगरका विभिन्न वडामा अहिले सेवाग्राहीले पुराना कागजात खोज्न पर्दा गोदाम कोठामा घण्टाै बिताउँदा समेत खाली हात फर्कनु परेको गुनासो सुनिँदै आइएको छ ।













