चोटका कारण प्रतिभा माली अझै कोर्ट बाहिर, थानकोटका किशोरीहरू सिक्दैछन् मालीसँग भलिबल

Thankot Times

थानकोट ।

नेपाल भलिबल संघसँगको सहकार्यमा इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपालमा पहिलोपटक भलिबलको फ्रेन्चाइज लिग हुँदैछ ।

एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को पहिलो सिजनमा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

टिम काठमाडौं, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले प्रतिस्पर्धा गर्नेछन् । एउटा टोलीमा ९ नेपाली र ३ विदेशी खेलाडी हुनेछन् । फ्रेन्चाइज टोलीका मुख्य आधिकारिक प्रशिक्षकको बैठकबाट ‘ड्राफ्ट र समझदारी प्रक्रियामा आधारित भएर ८ नेपाली खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ ।

प्रत्येक समूहमा ‘ए’ श्रेणी १, ‘बी’ श्रेणीका ४ र ‘सी’ श्रेणीका ३ खेलाडी राखिएको छ । ए’ श्रेणीमा रहनेले १ लाख ५० हजार, ‘बी’ श्रेणीमा रहनेले १ लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले ५० हजार पारिश्रमिक पाउनेछन् । बाँकी एक नेपाली खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट लिइने छ ।

सो फ्रेन्चाइज स्टार स्पाइकर प्रतिभा माली  लिगमा देखिनेछैनन् । खुट्टाको चोटका कारण उनी प्रतियोगितामा सहभागी नहुने भएकी हुन् ।

नेपालले काभा नेसन्स महिला लिगमा लगातार दुईपटक च्याम्पियन हुँदा उनले महत्वपूर्ण योगदान दिएकी थिइन् । डेढ साताअगाडि काठमाडौंमा भएको चौथो संस्करणको काभा च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनले दर्शकदीर्घामा बसेर खेल हेरेकी थिइन् ।

प्रतिभाको घुँडामा लागेको चोट

घुँडामा लागेको चोट निरन्तर बल्झिदाँ भलिबल स्टार प्रतिभा माली अझै कोर्ट बाहिर छन् ।

२०७६ साल माघ १० गते एनभीए क्लब च्याम्पियनसिपको उपाधीका लागि न्यू डायमण्डबाट एपीएफविरुद्ध त्रिपुरेश्वरस्थित भलिबल कभर्डहलमा उनी ढल्न पुगिन् ।

एक्स-रेमा उनको घुँडाको एसीएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी देखियो । अनि शल्यक्रिया गर्नु पर्‍यो ।

लकडाउनको कारण उनले राम्रोसँग उपचार गर्न पाइनन् । त्यसैले चार महिनामै दोस्रो शल्यक्रिया गर्नुपर्‍यो ।

 प्रतिभाले २०७८ को पुसमा पोखरामा भएको टाइगर कपबाट भलिबलमा पुनरागमन गरिन् । 

गत वर्ष नेपालमै काभा च्यालेन्ज कप प्रतियोगिता आयोजना भयो । अरु खेलाडीसँगै प्रतिभा पनि प्रशिक्षणमा जुटिन् । दुर्भाग्य ! उनको पुरानो चोट बल्झियो ।

तेस्रो पटक शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रिया र फिजियोपछि पुनः मैदान फर्किने तयारीमा जुटिन् । तर घुँडामा फेरि समस्या देखियो । 

६ महिनाअघि पोखरामा भएको चौथो टाइगर कपपछि उनी खेल्न नसक्ने अवस्थामा पुगिन् ।

चिकित्सकहरुका अनुसार प्रतिभाको एउटा लिगामेन्ट पातलो भइसकेको थियो, त्यसैले खेलका क्रममा मेनिस्कस च्यातिएर बारम्बार चोट लाग्ने गरेको थियो । यो पटक शल्यक्रिया गर्दा मेनिस्कसलाई थोरै खुर्किएको छ, ताकि रोटेशन नहोस् । ‘घाउ ठिक भइसक्यो, रिकभर समय पाँच महिना राखेका छौं,’ फिजियोथेरापिष्ट उज्वल डोटेलले भने, ‘अर्को एक/दुई महिनामा उनी खेल्न सक्छिन् ।’

थानकोटका किशोरीहरू सिक्दैछन् मालीसँग भलिबल

अहिले उनी साप्ताहिक रुपमा चन्द्रागिरि नगरपालिका थानकोटस्थित एक कभर्ड हलमा स्थानीय किशोरीहरूका लागि भलिबल प्रशिक्षण दिँदै आएकी छन् । शनिबार बेलुकी थानकोटस्थित कभर्ड हलमा भेटिएकी मालीले हरेक अभिभावकहरूले आफ्ना छोराछोरीलाई कुनैपनि खेल गतिविधिमा लाग्ने वातावरण बनाउन आवश्यक रहेको बताइन् ।

शारिरीक र मानसिक विकासका लागि खेलकुद नै सर्वश्रेष्ठ विकल्प भएको अनुभव सुनाउँदै उनले आफु अहिले आराम गरिरहेकोले छिटै कोर्टमा फर्कने बताइन् । उनले चिकित्सकको सल्लाह अनुसार फिजियोथेरापीका अतिरिक्त जीम कक्षा समेत लिइरहेको सुनाइन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ४ को सहयोगमा थानकोटमा बीस वर्ष मुनिका किशोरीहरूका लागि भलिबल प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *