शोणितपुर (थानकोट) मा मनाइने कृष्णजात्राको महिमा
थानकोट ।
थानकोटमा कृष्ण जन्माष्टमी मनाउने तरिका अन्यत्र ठाउँको भन्दा केही फरकपन देखिन्छ ।
ठाउँ, परिवेश र प्रचलन अनुसार फरक देखिनु स्वभाविकै पनि हो ।
थानकोटमा कृष्ण जन्माष्टमीको पहिलो दिन बेलुका थानकोटकै मध्यभाग (केन्द्र विन्दु) झ्यालम्पाटीमा कृष्णको मूर्ति विराजमान गराउन गाःछेँस्थित स्व. प्रेमप्रकाश श्रेष्ठको घरबाट खट ल्याउँछन् ।
उक्त खटमा आदिनारायणको सिंहासनमा राखिएका भगवान कृष्णगोपालको धातुको मूर्ति आदिनारायण मन्दिरका पूजारी (राजोपाध्याय) बाट पूजाआजा गरि ल्याउँछन् ।
त्यसबेला थानकोटस्थित सरकारी बाजागाजा (धिमे, नाय्खिं बाजा र म्वाय्ली) धुमधामकासाथ बजाउँदै मूर्ति खटमा विराजमान गराइन्छ । सोही बेला राधाकृष्णको धातु मूर्ति सिकःछेँस्थित हरि श्रेष्ठको घरबाट ल्याएर सोही खटमासंगै विराजमान गराइन्छ ।
त्यसपछि नासः फल्चामा राखिएका खटमा लण्ठ टोलस्थित प्रद्यूम्न श्रेष्ठको घरमा राखिएका कृष्णको धातुमूर्ति विराजमान गराइन्छ ।
साथसाथै ताहाफः फल्चामा मञ्जयप्रकाश श्रेष्ठको घरमा राखिएका कृष्णको मूर्ति, तखाछेँस्थित फल्चामा गोविन्द श्रेष्ठको घरमा राखिएका कृष्णको मूर्ति, लाय्बस्थित फल्चामा सहदेव श्रेष्ठको घरमा राखिएका कृष्णको मूर्ति, इमाखेलस्थित फल्चामा नन्ददास अमात्यको घरमा राखिएका कृष्णको मूर्ति, गोदाम र चुनिखेलस्थित फल्चामा समेत कृष्णको मूर्तिहरु सोही स्थानमा राखिएका खटमा विराजमान गराइन्छ । सोही दिन बेलुका श्रद्धालु भक्तजनहरु बाजागाजाकासाथ भगवान श्रीकृष्णप्रति आराधना स्वरुप दीप प्रज्वलित गर्न जान्छन् ।
सोही दिन रातभर श्रीकृष्णको पूजाआजाका साथ भजनकीर्तन गर्ने प्रचलन रहेको छ ।
त्यसको भोलिपल्ट बिहान आस्थाका साथ कृष्णको पूजाआजा गर्न जान्छन् ।
साथै, सोही दिन लागभग १०-११ बजेको समयदेखि श्रद्धालु भक्तजन महिला पुरुष बाजागाजाकासाथ कृष्णपूजा (जहाँ कृष्ण स्थापना गरिएको छ) गर्न जाने प्रचलन रहेको छ ।
उक्त अवसरमा आ-आफ्नो श्रद्धाले जे सकिन्छ भगवान श्रीकृष्णलाई चढाउने गर्दछन् । यो प्रचलन लगभग २०३१-२०३२ सालतिर थालनी भएको हो । हालसम्म पनि यसलाई निरन्तरता दिँदै आएका छन् ।
सोही दिन बेलुकातिर सबैतिरका कृष्णका खट जात्राका लागि तयार गरेर लस्करै गाउँ परिक्रमा गराउँछन् ।
सबभन्दा पहिला झ्यालम्पाटीस्थित खट तयार गरेर बाजागाजाकासाथ उठाउँछन् ।
उक्त खट जात्रा गर्दै निर्धारित देवमार्ग (झ्यालम्पाटी–चोछेँ–सिकःछँ हुँदै याकःछेँ) परिक्रमा गराउँछन् । अनि याकःछेँमा भेटेर क्रमैसंग नासः फल्चा, ताहाफः, लाय्ब, तखाछेँ, इमाख्यः, गोदाम र चुनिखेलको खटहरु लस्करै जात्रा गर्दै गाउँ परिक्रमा गराउँछन् ।
बाजागाजाका साथ मनग्य जात्रा गरेपछि आ-आफ्नै टोलहरुमा लिएर जान्छन् ।
झ्यालम्पाटीस्थित भगवान श्रीकृष्णको खट बिसाउनको लागि पनि अनिवार्य रुपमा सरकारी बाजागाजा बजाउनु पर्ने प्रचलन रहेको छ ।
खट विसाएपछि पूजाआजा गरेर पुनः राधा र कृष्णगोपाललाई आ-आफ्नै स्थानमा पुनःस्थापना गराउँछन् ।
यसपछि थानकोटमा कृष्णजात्रा सम्पन्न भएको मानिन्छ ।
स्मरण रहोस् यस कृष्णजात्रामा खट सानो हुने भएकाले अधिकांश सानासाना केटाहरुले उमङ्गका खट बोकेर रमाइलोका साथ बाजागाजाको तालमा ताल मिलाउँदै खट नचाउँदै जात्रा गर्दछन् ।
खासै भन्नुपर्दा यो जतिको रमाइलो सायद अरु जात्रा नहोला ।
लेखक- भीमनारायण श्रेष्ठ












