चेकपोष्टस्थित चन्दनभराटेश्वर मन्दिरमा भाद्र २० गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुने
थानकोट ।
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको भवन निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यसहित चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थानमा भाद्र २० गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
चन्दन भराटेश्वर महादेव मन्दिर प्राङ्गणमा आयोजना हुने सो महायज्ञका बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महायज्ञ भदाै २८ गते शुक्रबारसम्म जारी रहनेछ ।
चन्द्रागिरि ज्येष्ठ नागरिक समाज धार्मिक महोत्सव-२०८१ नाम दिइएको महायज्ञलाई व्यवस्थापनका लागि मूल समारोह समिति गठन गरिएको छ ।
सार्वजनिक जग्गामा भवन निर्माणको प्रकिया सहज नभइरहेको सन्दर्भ तथा ज्येष्ठ नागरिकहरूका भवन निर्माण समेत अत्यावश्यक देखिएकोले महायज्ञ आयोजना गरी रकम संकलन गरी जग्गा खरिदको उद्देश्य राखिएको हो ।
महायज्ञमा पण्डित वासुदेव घिमिरे, पण्डित गोविन्द दाहाल लगायतले कथा वाचन गर्नुहुने बताइएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा गठित ज्येष्ठ नागरिक समाजले हाल गुमालचोकीस्थित पूर्व गुमालचोकी प्राविको भवनमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

फाइल फोटोः धर्मेन्द्र महर्जन














