तेस्रो मातातिर्थ गोल्डकपः आजबाट दोश्रो चरणका खेल सुरु हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थस्थित बालागाउँ खेल मैदानमा जारी तेस्रो संस्करणको मातातिर्थ गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबारबाट दोश्रो चरणका खेल सुरु हुँदैछन् ।
बिहीबार सम्पन्न समुह चरणका अन्तिम खेलमा विजयी हुँदै समतामुलक युथ क्लब र क्लिन भीजन अघिल्लो चरणमा स्थान बनाउन सफल रहे ।
समुह चरणको अन्तिम खेलमा गणेशमान स्मृति फुटसल क्लबमाथि ५-० को सहज जित हात पार्दै समतामुलक युथ क्लब दोश्रो चरणमा प्रवेश गर्यो । यस्तै प्रतिस्पर्धात्मक खेलमा ब्लुबेल फुटबल क्लबलाई पेनाल्टी सूटआउटमा पछि पार्दै क्लिन भीजनले प्रिक्वाटरफाइनलमा प्रवेश गर्यो । खेलमा क्लिन भीजन १२-११ गोलले अघि रह्यो ।
प्रतियोगिता अन्तर्गत आज दिनको १ बजे सिद्धीकाली युथ क्लब र किसिपिडी युथ क्लबबीच खेल हुनेछ । समुह चरणमा किसिपिडीले लोरेन युथ क्लबलाई पराजित गरेको थियो भने सिद्धीकाली सोझै दोश्रो चरणका लागि छनोट भएको हो ।
दिनको दोश्रो तथा अन्तिम खेलमा दिउँसो ३ बजे फार भीजन यूथ क्लब र द हिलिङ युथ क्लबबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । हिलिङ सोझै दोश्रो चरण खेल्ने अवसर पाएको हो भने समुह चरणमा निर्धारित खेलमा विपक्षी टोली अनुपस्थित भएपछि फार भीजनले पनि प्रतियोगितामा पहिलो खेल आज खेल्नेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा भइरहेको प्रतियोगिता असोज १७ गते सकिने छ।












