छठ पर्वपछि सार्वजनिक यातायातको भाडा समायोजन हुने
थानकोट ।
सरकार र यातायात व्यवसायीको पहलमा सवारीसाधनको भाडादर छठ पर्वपछि समायोजन गर्ने समझदारी बनेको यातायात व्यवस्था विभागले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा व्यवसायीले भाडादर बढाउने विषय उठाएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विभागलाई भाडादर समायोजन गर्न निर्देशन दिएका थिए ।
पेट्रोलियम पदार्थको मूल्यमा हुने घटबढका आधारमा बाहेक वार्षिक रूपमा गर्नुपर्ने भाडादर समायोजन पनि विगत ३ वर्षदेखि हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए ।
बजारका अन्य सूचकहरूको मूल्य घटबढ भएअनुसार वार्षिक रूपमा भाडादर समायोजन गर्नुपर्ने माग भएकाले अध्ययन नै गर्नुपर्ने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले बताए ।
‘व्यवसायीको माग व्यावसायिक हिसाबले छ ।
उनीहरूले माग राख्न पाउँछन्,’ ढकाल भन्छन्, ‘तर माग गरेको सबै पूरा गर्नुपर्छ भन्ने हुँदैन । कानुनलाई आधार मानेर यातायात व्यवस्था विभागले अध्ययन गर्छ र मन्त्रालयमा सुझाव पेस गरेपछि मात्रै के कति भाडादर तय गर्ने निर्णय हुन्छ ।’
रातोपाटीबाट














