नागढुङ्गा-मुग्लिन सडकमा दुइतर्फी यातायात सञ्चालन
थानकोट ।
अविरल वर्षापछिको बाढी र पहिरोले अवरुद्ध त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
सडक सञ्चालनमा आएसँगै दशैं मनाउन घर जानेको घुइँचोले बसहरु खचाखच भरिएका छन् ।
साथै, लामो समयदेखि राजधानी प्रवेश गर्न नपाएका मालबाहक सवारी साधन र यात्रु बोक्ने सवारी साधनले दुवैतर्फको सवारी चाप बढाएको छ ।
नागढुङ्गा-मलेखु-मुग्लिन सडक खण्ड अझै पनि निर्माणाधीन अवस्थामा छ ।
अझै पनि ठाउँ ठाउँमा पहिरोको उच्च जोखिममा रहेकोले सावधानीपूर्वक सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।
राजमार्गमा सवारी जाम हुन नदिन ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको छ ।
साथै, पहिरो खसिहालेमा तत्काल पन्छाउन लागि राजमार्गमा नै आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
हालको अवस्थामा भने नागढुङ्गा-मलेखु-मुग्लिन सडक खण्ड दुईतर्फी नै यातायात सञ्चालन सहज रूपमा भइरहेको छ ।
गत बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ-ठाउँमा खसेको पहिरो पन्छाई सवारी हिजोदेखि दुवैतर्फी सञ्चालनमा ल्याइएको हो ।












