दक्षिणकाली-सिस्नेरी हुँदै हेटाैंडा जान सकिने, फर्कन चित्लाङ-चन्द्रागिरि सडक प्रयोग गर्नुपर्ने
थानकोट ।
काठमाडाैंबाट हेटाैंडा जोड्ने प्रमुख सडक दक्षिणकाली-सिस्नेरी-कुलेखानी सडकको दक्षिणकाली-सिस्नेरी खण्ड दिउँसोको समयमा एकतर्फी सञ्चालन हुने भएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको अनुगमनपछि सो मार्गलाई एकतर्फी गर्न निर्देशन दिइएको हो ।
यसअनुसार हेटौंडाबाट काठमाडौं आउने सवारी साधन यो मार्गबाट प्रवेश गर्न पाउँदैनन् ।
यी सवारी साधनलाई चित्लाङको बाटो हुँदै काठमाडौँ पठाउने व्यवस्था गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज चिलुवालले जानकारी दिए ।
त्यस्तै, रातिको समयमा भने दक्षिणकाली-सिस्नेरी सडक खण्ड पूर्ण रूपमा बन्द हुनेछ ।
‘पहिरो पन्छाएर खोलामै ट्र्याक बनाइएको र साँघुरो बाटो भएका कारण रातिको समयमा गाडी नचलाउनुस् भनेका छौँ,’ सीडीओ चिलुवालले भने, ‘यातायात व्यवसायीहरू पनि यसमा सहमत हुनुहुन्छ ।’
यो बाहेक अरू सबै सडकहरू अहिले नियमित रूपमा सञ्चालनमा छन् ।
कान्ति राजमार्ग हुँदै आवतजावत हुने सडक अहिले दुईतर्फी सञ्चालनमा आइसकेको छ ।
थानकोटबाट चित्लाङ हुँदै हेटौँडा जोड्ने सडक, काठमाडौँबाट नौबिसे हुँदै भैँसे जोड्ने त्रिभुवन राजपथ र नारायणघाट मुग्लिङ हुँदै आवतजावत सडकको बाटो अहिले सुचारु रहेको उनको भनाइ छ ।













