आज आयुर्वेद दिवस, धन्वन्तरि जयन्ती तथा आरोग्य दिवस
थानकोट ।
कार्तिक कृष्ण त्रयोदशीका दिन धवन्तरिको जन्मदिन पारेर नेपाल र भारतमा आरोग्य दिवस मनाइन्छ।
धन्वन्तरिलाई आयुर्वेदको प्रवर्तक एवं उन्नायक मानिन्छ।
देव र दानवको बिच घमासानको युद्ध हुँदा सहमतिस्वरूप समुद्र मन्थन गर्दा विभिन्न रोग निवारणका औषधिहरू यही कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत कलश लिएर धन्वन्तरिको उत्पत्ति भएको पुराणहरूमा उल्लेख छ।
देवपाटनमा वैद्यहरूको बस्तीको बिचमा त्यहाँ यो मूर्तिको स्थापना भएको हो। वैद्य पेसामा लाग्नेहरू धन्वन्तरिलाई आफ्नो इष्टदेव मानेर पूजाआजा गर्छन्। आजकाल धन्वन्तरि जयन्तीलाई आरोग्य दिवसको रूपमा मान्ने प्रचलन छ।
यहाँको धन्वन्तरिको मूर्तिको पूजा गर्दा देवपाटनका वैद्यहरू धूप, दीप, अक्षताको साथै “बेसार” पनि चढाउँछन्।
विसं. १९८५ मा काठमाडौँको नरदेवीमा नेपाल राजकीय आयुर्वेद विद्यालयको स्थापनापछि विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । आयुर्वेद क्षेत्रका समर्पित व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई “आरोग्य दिवस” को रूपमा पनि मनाउन थालिएको हो। आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति मानिन्छ।
यस दिन आयुर्वेदसँग सम्बन्धित कलेज, सङ्घसंस्थाहरूले धन्वन्तरि जयन्तीलाई धूमधामसँग मनाउँछन्।












