विद्यार्थी गुणीय चक्रको १८औं राष्ट्रिय सम्मेलनकाे तयारी पूरा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविमा कार्तिक २४ गतेबाट सुरु हुने विद्यार्थी गुणीय चक्रको १८औं राष्ट्रिय सम्मेलनकाे तयारी पूरा भएको छ ।

क्वेष्ट नेपालकाे आयोजना तथा ब्राइट फ्यूचर माविकाे व्यवस्थापनमा हुने तीनदिने सम्मेलन प्रा.डा. दिनेशप्रसाद चापागाई र पूर्व शिक्षा एवं ज्ञान तथा प्रविधि मन्त्री तथा संघीय सांसद कृष्णगोपाल श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्ने तालिका छ ।

सम्मेलनअन्तर्गत पहिलाे दिनकाे सत्र अवलोकनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई समेत आमन्त्रण गरिएको क्वेष्ट नेपाल उपाध्यक्ष एंव ब्राइट फ्यूचर माविका अध्यक्ष माेहन कुमार कार्कीले जानकारी दिए ।

क्वेष्ट नेपालका अध्यक्ष नारद रिजालले अध्यक्षता गर्ने सम्मेलनमा विभिन्न ७४ जिल्लाका करिब ५ सय १२ जना विद्यार्थी, करिब १ सय जना अन्तर्राष्ट्रिय पर्यवेक्षक (भारत र श्रीलंका) शिक्षक शिक्षिका, विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा शिक्षाविद्हरुले सहभागिता रहने बताइएको छ।

हरेक वर्ष देशव्यापी रुपमा क्वेष्ट नेपालले विद्यार्थी गुणीय चक्र प्रवर्धनका लागि स्थानिय सम्मेलन क्षेत्रीय सम्मेलनपछि राष्ट्रिय सम्मेलन गर्ने गरेको छ।

यसवर्ष देशका २८ वटा हबहरुबाट छानिएका विद्यार्थी प्रतिनिधिहरूले विद्यार्थी गुणीय चक्रको कार्य प्रतिवेदन प्रस्तुतीकरण गर्ने छन्।
सम्मेलनमा विद्यार्थीले विभिन्न गतिविधिमा भाग लिने छन् । जसमा घटना अध्ययन (केश स्टडी), क्वालिटी क्वीज, प्यानल डिस्कशन, कोलाबोरेटीब स्टोरी, आर्ट, कोलाज, मनशा स्मृति सर्वगुणीय अवार्ड, पेन्टिङ, ए आई सँग सम्बन्धित सीप विकास, ट्रेजर हन्ट लगायतका गतिविधिमा सहभागी विद्यार्थीहरु व्यस्त रहनेछन् ।

सम्मेलनकाे उद्घाटन सत्रअघि चन्द्रागिरि नगरका विभिन्नबाट प्रभातफेरि सहितको र्याली निस्कने छ। र्यालीमा विभिन्न नेवा: बाजा खलकाे सहभागिता रहनेछ ।

विद्यार्थी गुणीय चक्र विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रम हो।

यो सन् २००५ देखि देशका विभिन्न शैक्षिक संस्थाहरूमा एक नविनतम शैक्षिक चिन्तनको रुपमा लागू भइरहेको छ। क्वेष्ट नेपाल समान विचारधारा भएका शिक्षाविद् द्धारा विद्यार्थी गुणीय चक्रको प्रचार र कार्यान्वयन गरी सार्थक, सामाजिक, असल र चतुर विद्यार्थी उत्पादनको लागि प्रशिक्षित गर्ने उद्देश्यका साथ स्थापना गरिएको एक पूर्णत: स्वयंसेवी संस्था हो।

हाल नेपालका १ सयभन्दा बढी विद्यालयमा सह-पाठ्यक्रम तथा पाठ्यक्रमको रुपमा विद्यार्थी गुणीय चक्रको सञ्चालन तथा पठन पाठन भइरहेको छ।

नेपालमा विद्यार्थी गुणीय चक्रको अवधारणा प्रा डा.दिनेश प्रसाद चापागाईले सन् १९९९ मा सुरुआत गरेका हुन्।
विद्यार्थी गुणीय चक्रको वास्तविक अवधारणा सन् १९६२ देखि जापानको उद्योगमा वस्तु र सेवाको गुणस्तर अभिवृद्धि गर्न लागू गरिएको चक्रबाट लिइएको बताइन्छ । विद्यार्थी गुणीय चक्र हाल विश्वका २५ भन्दा बढी देशमा लोकप्रिय भइरहेको छ।

स्कुले विद्यार्थी जो आफूलाई सर्वगुण सम्पन्न व्यक्तिका रुपमा विकास गर्न चाहन्छन् उनीहरूका याे सम्मेलन बृहत् राष्ट्रिय मञ्चमा सहभागिता लागि राम्राे अवसरका रुपमा लिइएको सम्मेलन व्यवस्थापक ब्राइट फ्यूचर माविका प्रधानाध्यापक दयराम थापाको तर्क छ।

विद्यार्थी गुणीय चक्रको राष्ट्रिय सम्मेलन तेस्रो पटक काठमाडाैं जिल्लामा आयोजना हुन लागेको हो ।

यसअघि सो सम्मेलन ग्यालेक्सी स्कुल र एलआरआइ स्कुल आयोजना भएको थियो ।

पछिल्लो सम्मेलन गत मंसिरमा चितवनको साैराहास्थित स्मल हेवनमा सम्पन्न भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *