महालक्ष्मी जात्रा अन्तर्गत आज शोणितपुर (थानकोट) मा सिन्दूरजात्रा मनाइँदै

Thankot Times

थानकोट ।

शोणितपुर (थानकोट) क्षेत्रमा परम्परागत साँस्कृतिक महोत्सवका रूपमा वर्षेनी मनाइने सिद्धिगणेश र महालक्ष्मीको जात्रा अन्तर्गत आज सिन्दूर जात्रा मनाइँदैछ ।

प्रतिपदाको दिन बिहान खटमा विराजमान गराइएका सिद्धिगणेश र महालक्ष्मीको सिन्दूरजात्रा शुरू हुन्छ । स्थानीय सरकारी गूठीका जुवाः (पूजारी) को नेतृत्वमा पूजारी टोली, स्थानीय प्रशासनिक निकायका पदाधिकारीहरू एंवम् समाजमा प्रतिष्ठित गन्यमान्य व्यक्तिहरूद्वारा खटमा बिराजमान सिद्धिगणेश र महालक्ष्मीलाई सिँदूरले अभिषेक गरि सिन्दूरजात्राको आरम्भ गराइन्छ । त्यसरी सिन्दूरले अभिषेक गरिने भएकाले यस जात्रालाई सिन्दूरजात्रा भनेका हुन् ।

केही समयको सिन्दूरजात्रा सकेपछि रथलाई विभिन्न टोलमा परिक्रमा गराइन्छ । रथलाई ताहाननी, लाय्ब, ताहाफल, बाकुननी, लँथ, बद्रीनाथ मन्दिर दायाँ, कोतघर, चाफलमा बिसाउँदै, रमाईलोका साथ जात्रा गर्दै टोलटोलमा परिक्रमा गराउँछन् ।

अन्तमा सोही दिन बेलुका चाफलटोलमा विराजमान गराईएका अनन्त भैरवनाथसँग त्वाय् चिँकेगु (मित लगाउने) कार्य गरिन्छ। । त्यसपछि रथलाई गाःछेँ टोलमा विसाउँछ । त्यहाँ पूजाआजा सकेपछि नासल टोलमा जात्रा गरेर रथ पुर्याउँछ र बिसाएपछि थानकोटको सिन्दूरजात्रा औपचारिक रुपमा सम्पन्न हुन्छ ।

यो जात्रामा सहभागी हुन छिमेकी, आफन्त, नाताकुटुम्ब उल्लेख्य सङ्ख्यामा आउने चलन छ । भेटघाट, भलाकुसारी र भोजभतेर आदिसँगै जात्राको उल्लासमय वातावरणमा सबै एकप्रकारले रमाइरहेका हुन्छन् । पाहुनापाछाको स्वागत सत्कार गर्नु र देवीदेवताको पूजाआराधना गर्ने यस अवसरमा स्थानीय बासिन्दाको प्रमुख दायित्व नै हो । यही दायित्व निर्वाह गर्न प्रत्येक घरपरिवारमा छाएको उत्साह र खुशियाली आगन्तुकका लागि आनन्दको संयोग हुन्छ ।

सोही जात्राको अवसरमा भाकल गर्ने श्रद्धालु भक्तजनहरूबाट सिद्धिगणेश र महालक्ष्मीको खटमा बोका, हाँस एवम् कुखुरा बलि चढाउने गर्दछन् । साथै स्थानीय सरकारी गूठीको तर्फबाट समेत कोतघर प्राङ्गणमा खट पुगेपछि बोका बलि दिई पूजाआजा गर्ने गरिन्छ ।
थानकोटमा मानववस्ती शुरू भएदेखि नै भैरव देवतालाई विधिपूर्वक पूजाआराधना गर्ने गरेको पाइन्छ । यही जात्राको सुअवसरमा स्थानीय गोपाली परिवारका दुईजना सुकन्याको ईही (बेल विवाह) गरिने प्रचलन पनि रहेको छ । यसमा सोही गुठीका थकाली र गूठीको पालो पर्ने परिवार मध्येका कन्याहरूलाई भैरद्यः (भैरव देवता) सँग ईही गर्ने गरिन्छ ।

गोपाली गुठीमा रहेको भैरवको मूर्तिलाई सिकःछेँ टोलस्थित भैरवस्थानमा लगेर पूजाआजा गरेपछि ईही गर्ने प्रचलन रहेको छ । यस जात्राको अवसरमा प्रत्येक वर्ष गोपाली गूठीका दुई सुकन्याहरूलाई ईही अर्थात् बेलविवाह गरिने परम्परा रहेकाले यसमा सम्मिलित हुने ती कन्याहरू अत्यन्त भाग्यशाली मानिन्छ ।

यही जात्राको सिलसिलमा श्रद्धालु भक्तजनहरूबाट भाकल स्वरुप बलि सहित पूजाआजा गर्दा सिद्धिगणेशलाई बलि चढाउने कार्य गदैनन् । बलि चढाउनै परेमा खटमा बलि दिन्छन् । यहाँस्थित सिद्धिगणेशले रगत खाँदैनन् भन्ने जनधारणा रही आएको छ । यहाँस्थित सिद्धिगणेशलाई किन बलि चढाउँदैनन् भन्ने एउटा रोचक प्रसंङ्ग छ ।

लेखकः भीमनारायण श्रेष्ठ

परापूर्वकालमा मानव र देवीदेवताहरू बीच वार्तालाप हुँदा भक्तजनहरूले सिद्धिगणेशको पूजाआराधना सकेर बलि चढाउने बेलामा “कुन बलि लिने ? दुई खुट्टे, चार खुट्टे अथवा आठ खुट्टे” भनी सोध्दा दुई खुट्टेको भन्दा चार खुट्टेको रगत बढी आउँछ भने आठ खुट्टेको झन बढि रगत आउँछ । बढी रगत पिउन पाउने आशाले सिद्धिगणेशले “आठ खुट्टेको बलि खान्छु” भनेछन् । त्यसै अनुसार भक्तजनहरूले स्वीकार गरेछन् ।

आठ खुट्टेको बलिबाट निक्कै रगत खान पाउने आशामा सिद्धिगणेश आँखा चिम्लेर मख्ख भएर बसेछन् । सोही मुताविक भक्तजनहरूले आठ खुट्टोको जीवलाई डोरीले बाँधेर हैसे र होस्तेको बलमा तानेर ल्याएछन् । आँखा चिम्म गरी बसेका सिद्धिगणेशलाई आठखुट्टे जीवको बलि चढाउँदा रगतको थोपा पनि नझरेको चाल पाएपछि आँखा उघारी हेर्दा त गँगटो पो बलि चढाउन ल्याएका रहेछन् । सिद्धिगणेश हिस्स परेछन् ।
त्यसैबेलादेखि सिद्धिगणेशबाट ठूलो आशामा त्यस्तो बलि लिन पुगेकोले खिन्न मन गरी “अब देखि कहिले पनि बलि नलिने” भनेका रहेछन् । त्यसैले आजसम्म पनि थानकोटमा सिद्धिगणेशको पूजाआजा गरी बलि चढाउँदा खटमा बलि दिने गर्दछन् ।

तस्बिरः धर्मेन्द्र महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *