चन्द्रागिरि नगर कार्यपालिका सदस्यहरूद्धारा त्रिभुवन पार्कको अनुगमन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीको नेतृत्वमा नगरका कार्यपालिका सदस्यहरूले शुक्रबार थानकोटस्थित त्रिभुवन पार्क (शहीद स्मारक प्रकृति प्रतिष्ठान) को स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

उपमेयर बसन्ती श्रेष्ठ, नगर प्रवक्ता एवं वडा नंं ४ का अध्यक्ष कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरू संजय सिग्देल, घनश्याम लुँइटेल, श्रीकृष्ण खत्री, नगरका कार्यपालिका तथा नगरर सभा सदस्य तथा प्राविधिक कर्मचारीहरू सम्मिलित टोलीले पार्क क्षेत्रको सुधार एवं संरक्षणका लागि निर्माण गर्न पर्ने संरचनाहरूका बारेमा पार्कका कर्मचारीहरूसँग ब्रिफिङ समेत लिएका थिए ।

शुक्रबार बिहान पार्क पुगेको सो टोलीले यसअघि निर्माण भएका संरचनाहरूको स्तरोन्नति गर्ने तथा थप आवश्यक संरचना निर्माणका लागि डीपीआर तयार गर्ने निचोड निकालिएको नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए ।

त्रिभुवन पार्क संरक्षण तथा स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारबाट समपुरक अनुदान र चन्द्रागिरि नगरपालिकाबाट चालु आर्थिक वर्षका लागि करिब ३ करोड रुपैयाँ विनियोजन भएको छ ।

पार्क निरीक्षणका क्रममा मेयर गिरीले पुराना संरचनाको प्रबलीकरण गर्न उपयुक्त हुने धारणा राखे । मेयर गिरीले वर्षायाममा क्षतिग्रस्त भएका संरचनाहरूमा टेवा पर्खाल लगाउने तथा खोल्सीको दायाँबायाँ तटबन्ध बनाइ मनसुनजन्य विपद्का कारण हुने क्षति कम गर्न प्राथमिकता दिने बताए ।

सो क्रममा त्रिभुवन पार्क व्यवस्थापन समितिका अध्यक्ष मदन ताम्राकारले पार्क क्षेत्रमा गरिएका सुधारका प्रयासहरूका बारेमा मेयर गिरी नेतृत्वको अनुगमन टोलीलाई जानकारी गराएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *