ज्योति समूह विभाजित, पद्म ज्योतिको नेतृत्वमा नयाँ घराना

Thankot Times

थानकोट ।

नेपालको पुरानो मध्येको व्यापारिक तथा औद्योगिक घराना ज्योति समूह विभाजन भएको छ।

ज्योति समूहबाट आफ्ना सम्पूर्ण कम्पनीहरू सञ्चालन गर्दै आएका पद्म ज्योतिले आइतबार ‘पद्म ज्योति समूह’ घोषणा गरेका हुन्।

समूहको अध्यक्ष पद्म ज्योतिका साथै मीरा ज्योति संस्थापक सदस्य र सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन्।

यसअघि ज्योति समूहका मुख्य सदस्य पद्म ज्योति र रूप ज्योति रहेका थिए।

उनीहरूले पिता मणिहर्ष ज्योतिले सन् १९४० मा स्थापनमा गरेको घरना ‘ज्योति ग्रुप’ बाट आफ्ना कम्पनीहरू सञ्चालन गर्दै आएका थिए। तर, लामो समयदेखि दुई दाजु भाइ (पद्म र रूप) बीच विवाद बढ्दै गएको थियो।

आइतबार पद्म ज्योतिले समूहको लोगो सार्वजनिक गर्दै नयाँ औद्योगिक समूह सञ्चालनमा आएको जानकारी गराएको हो।

अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्षको विरासतलाई कायम राख्नको लागि नयाँ अध्याय सुरू गरिएको बताएका छन्।

यो समूह अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा दुई पांग्रे छन्।

पद्म ज्योति समूहले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्ने र नयाँ पुस्ताको नेतृत्वमा संस्थागत विकासलाई अगाडि बढाउने लक्ष्य राखेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *