केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता: छात्रातर्फको उपाधि रिब्स माविको पोल्टामा
थानकोट ।
चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत सिनियर गर्ल्सतर्फ चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स मावि च्याम्पियन भएको छ ।
सिनियर गर्ल्सको फाइनलमा रिब्सले डिफेन्डिङ च्याम्पियन एनसीसीएसलाई ३५-२६ ले पाखा लगायो । दुईपटक अतिरिक्त समयमा गएको फाइनल खेलमा रिब्सकी सुप्रिया मल्लले १५ स्कोर गरिन् ।
सुप्रिया आफ्नो विधामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन् ।
सिनियर ब्वाइजमा गोदावरी रेसिडेन्सियल स्कुल, जुनियर ब्वाइजमा काठमाडौं शिक्षालय र सिनियर गर्ल्समा क्यान्भासले अनुशासित टिमको ट्रफी हात पारे ।
आयोजक केएमसीको कोर्टमा सिनियर ब्वाइज फाइनलमा विल्सनले हेम्सलाई ४५–४१ साँघुरो अन्तरले हरायो । विल्सनका रेहान डंगोलले १९ स्कोर गरे ।
जुनियर ब्वाइज फाइनलमा एलेन लामाको १३ स्कोरमा कश्यपले नेरिक एकेडेमीलाई ३२–२९ ले हरायो । कश्यपका एलेन लामाले १३ स्कोर गरे ।
फाइनलका सर्वाधिक स्कोरकर्ता रेहान, एलेन आ-आफ्नो विधामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, नेपाल बास्केट बल संघका महासचिव नरेन्द्र थापा, केएमसीका कार्यकारी निर्देशक ध्रुव भट्टराई, प्रिन्सिपल द्वारिकानाथ अम्गाईंलगायतले पुरस्कृत गरे ।
















