लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा ‘जनार्दन’ बनायाेः देउवा

Thankot Times

थानकोट ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै स्थानीय तहमा जनतालाई दिने सेवा–सुविधालाई प्रभावकारी र चुस्त बनाउँदै आर्थिक र सामाजिक विकाससहितको समृद्धितर्फ अगाडि बढेको बताएका छन्।

जिल्ला समन्वय समिति काठमाडाैँले आयाेजना गरेकाे महासंघको ३० औं स्थापना दिवशका अवसरमा चन्द्रागिरिमा शुक्रबार  कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस सभापति देउवाले लेकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा ‘जनार्दन’ बनाएको बताए।

उनले भने, जनतासँग प्रत्यक्ष जोडिएर संघीय गणतन्त्रको सही अभ्यास गर्ने थलो स्थानीय तह हो। हाम्रो संविधानले स्थानीय तहलाई लोकतन्त्रको प्राणको रुपमा व्याख्या गरेको छ। यस्तो महत्वपूर्ण निकायको समन्वय र अनुगमन कायम गर्न हरेक जिल्लाका जिल्ला समन्वय समितिहरुको महत्वपूर्ण भूमिका हुन्छ।’

विकासका कार्यमा सुशासनसहित समावेशिता, सहभागिता पारदर्शिता, क्षेत्रगत एवं पर्यावरणीय सन्तुलनजस्ता उपलब्धि हासिल गर्न समन्वय समितिको ध्यान जान आवश्यक रहेको कांग्रेस सभापति देउवाले बताए।

‘कानुनी रूपले समन्वय नै मूल जिम्मेवारी भएका कारण पालिकाहरूबीच मात्र नभई प्रदेश र सङ्घबीच समन्वय गरी प्रभावकारी कार्यसम्पादन गराउने भूमिका तपाईंहरूको छ,’ सभापति देउवाले भने, ‘आगामी दिनमा अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन तपाईंहरूको थप ध्यान पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु।’

सभापति देउवाले बजेट, पूर्वाधार, कानुन तर्जुमालगायत समस्यामा आफू र आफ्नो पार्टीले सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

नयाँ संविधान जारी भएसँगै सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक चुनाव सम्पन्न भइसकेको भन्दै उनले दोस्रोपटक तीनै तहको निर्वाचन सम्पन्न भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको उल्लेख गरे।

जिल्ला समन्वय समिति काठमाडौँद्वारा देशका सबै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुखहरुको स्वागतार्थ आयोजित क्षमता अभिवृद्धि एवं पुनर्ताजगी कार्यक्रमका अध्यक्ष सन्तोष बुढाथोकीले पालिकाहरुबीचको विवादमा समन्वयकारी भूमिका निर्वाह गरी समस्या समाधान गर्ने दायित्व आफूहरुमा रहेको बताएका थिए। उनले समन्वय समितिका काम, कर्तव्य र अधिकारबारे प्रष्ट हुनसमेत सबैमा आग्रह गरे। त्यस्तै, चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरिले नगरपालिकाले गरेको कार्य प्रगतिबारे प्रकाश पारेका थिए।

सबै तस्वीरः चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको सचिवालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *