पुरोहित, ज्योतिषीलाई लाइसेन्स अनिवार्य गर्ने तयारी

Thankot Times

थानकोट ।

पछिल्ला वर्षहरूमा विभिन्न हिन्दु धार्मिक समूहमाथि पुराणको आधारभूत ज्ञानसमेत नभएका व्यक्तिबाट कथावाचन गराइरहेको आरोप लाग्दै आएको छ। यसकारण धार्मिक कर्मकाण्ड गर्न, ज्योतिषी सेवा दिन तथा पुराणवाचन गर्न आधिकारिक अनुमतिपत्र अथवा ‘लाइसेन्स’को व्यवस्था गर्नुपर्ने आवाज उठ्न थालेको छ।

यो विषयमा धेरै दबाब आएपछि नेपाल पञ्चांग निर्णायक विकास समितिले सोही किसिमले काम थालेको छ। यसका लागि समितिले आवश्यक कानुनी व्यवस्था गर्न लागेको समिति सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।

‘ज्योतिषी, कर्मकाण्ड गर्ने पुरोहित र पण्डितहरूबाट जनताले जे सेवासुविधा पाउनुपर्ने हो, त्यो नपाइरहेको अर्थात् उनीहरू ठगिएका हुन् कि वा शास्त्रअनुसार ज्योतिष–कर्मकाण्ड चलेको छ कि छैन भनेर हेर्नुपर्ने अवस्था छ,’ ढुंगेलले भने। यी कार्य सँगै आधिकारिक हुन् कि होइनन् भन्ने अवस्था छुट्याउनुपर्ने देखिएको पञ्चांग निर्णायक विकास समितिले महसुस गरेको छ।

जुनसुकै पेसा–व्यवसायमा रहेका व्यक्ति वा संघसंस्थाको आफूले आर्जन गरेको सम्पत्तिको केही अंश राज्यलाई दिनुपर्ने दायित्व नै हुन्छ। तर, धार्मिक कर्मकाण्ड गर्ने पुरोहित त्यसको दायरामा आएका छैनन्। उनीहरूले गराउने धार्मिक अनुष्ठानबाट आयआर्जन नगरेका पनि होइनन्। केही हजारदेखि लाखौं–करोडौंसम्म मासिक रूपमा आर्जन हुने गरेको स्वयं कर्मकाण्ड गर्ने पुरोहितहरू बताउँछन्। त्यस्तो अवस्थामा उनीहरूलाई समेत करको दायरामा ल्याउने गरी नियमावलीको मस्यौदा तयार भइरहेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

समितिले देशैभरिका लागि अनुमतिपत्र जारी गर्ने प्रस्तावबारे छलफल अघि बढाइरहेका बेला पशुपति क्षेत्र विकास कोषले भने पाशुपत क्षेत्रमा छुट्टै अनुमतिपत्र दिने व्यवस्था गर्न लागेको छ। तर परम्पराका रूपमा चलिरहेका यस्ता कार्यलाई लाइसेन्स लिएर नियमन गर्नु उचित नभएको र त्यसले थप समस्या निम्तिन सक्ने कतिपय संस्कृतिविद्को भनाइ छ नागरिक दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ