पाथीभरा केबलकार बन्दा ८० प्रतिशत ताप्लेजुङबासीले रोजगारी पाउँछन् : चन्द्र ढकाल
थानकोट ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयको साथ रहेको बताएका छन्।
शनिबार पाथीभरा देवी दर्शन केबलकार प्रालिका तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उनले तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताए।
उनले ताप्लेजुङबासीको अधिकांशको मत केबलकार बनाउनुपर्छ भन्नेमै रहेको सुनाए।
ताप्लेजुङभन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको उपयोग गर्ने तर नेपालमा हुन लागेको विकासको विरोध गरिरहेको बताए।
ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुनेकुरा महत्वपूर्ण रहेको उनले बताए। ताप्लेजुङबासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको उनले बताए।
उनले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने बताए। उनले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङबासीले नै रोजगारीको अवसर पाउने उल्लेख गरे।
२.७५ किलोमिटर लामो केबलकार लाइनमा ३६ यात्रुवाहक गोन्डोला र २ वटा सामान बोक्ने गोन्डोला रहनेछन्। तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न १० मिनेट ३१ सेकेन्ड लाग्नेछ।














