मातातिर्थमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४ सय बढीले लिए सेवा
थानकोट ।
लायन्स क्लब अफ काठमाडौ ईन्द्र अन्नपूर्ण योगाको आयोजनामा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ बौथलीस्थित मातातिर्थ स्वास्थ्य चौकीमा चन्द्रागिरि नगरपालिका वडा नं. ८ को व्यवस्थापनमा ओम समाज डेन्टल अस्पताल, नैकाप एवं कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सो स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा दन्त सेवा, नेत्ररोग विशेषज्ञ सेवा तथा स्वास्थ्य परामर्श उपलब्ध गराइएको ओम समाज डेन्टल अस्पतालले जनाएको छ ।
शिविरमा करिब ४२५ जनाले सेवा लिएको बताइएको छ ।












