चन्द्रागिरि नगरमा ‘योगदान राष्ट्रका लागि’ सामाजिक संस्था गठन

Thankot Times

थानकोट ।

‘योगदान राष्ट्रका लागि’ नामक सामाजिक संस्थाको चन्द्रागिरि नगरमा औपचारिक रुपमा शुरुवात गरिएको छ ।

शनिबार नैकापस्थित इन्द्र अन्नपूर्ण योगाको सभा हलमा एक कार्यक्रमका बीच संस्थाको चन्द्रागिरि नगर कमिटि गठन गरिएको हो । 

भेलाले चन्द्रागिरि नगर क्षेत्रमा प्राथमिक उपचार सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्ने तथा तालिमहरु संचालन गरि एक घर एक प्राथमिक उपचारकर्ता तयार गरि स्वास्थ्य क्षेत्रमा राष्ट्रलाई योगदान दिने उद्देश्यले चन्द्रागिरी क्षेत्रको लागि योगदान राष्ट्रको लागि चन्द्रागिरी नगर समिति गठन गर्ने निर्णय गरेको अभियानका केन्द्रीय प्रवक्ता हिरण्यराज उप्रेतीले जानकारी दिए । 

योगदान राष्ट्रका लागि’ को नवगठित चन्द्रागिरि नगर कमिटि अध्यक्षमा अन्जना खड्का, उपाध्यक्षमा शारदा श्रेष्ठ, सचिवमा नानु श्रेष्ठ, कोषाध्यक्षमा मिना चयन हुँदा सदस्यमा कृष्णजंग थापा, सुगन्धा सिग्देल र जीवन नेपाल समेटिएका छन् । 

‘योगदान राष्ट्रका लागि’ अभियान्ता ओम उप्रेतीले ल्याएको अवधारणा हो । उप्रेती युएईमा विभिन्न प्रकारका दुर्घटनामा परेकाहरुको प्राथमिक उपचारको क्षेत्रमा सक्रिय छन् । उप्रेतीले आफुले सिकेको ज्ञान र सीपलाई नेपाली माटो र नेपाली युवाहरु माझ प्रयोग गर्ने हेतुले संस्था स्थापना गरेका थिए ।

सो अभियानले विगत छ वर्षदेखि नेपालका विभिन्न जिल्लाहरुमा प्राथमिक उपचार सम्बद्ध अभियान र कार्यकहरु चलाउँदै आएको छ । अभियान्ता उप्रेतीका अनुसार ‘योगदान राष्ट्रका लागि’ संस्थाले देशका ७७ वटै जिल्लाहरूमा सञ्जाल विस्तार भइसकेको छ । 

संस्थाले विशेष गरी बेहोस भएका, छारे रोग, दुर्घटनामा अंगभंग भएका, घाँटीमा अड्केका, करेन्ट लागेका, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेका, विष सेवन गरेका, हृदयघात, दम तथा प्राकृतिक विपक्तिमा परेकालाई कसरी प्राथमिक उपचार गरेर तत्काल जोखिम कम गर्न सकिन्छ भनेर तालिम प्रदान गर्ने गर्दछ । यसका अलावा संस्थाले प्राथमिक उपचार स्वास्थ्य सामग्रीहरु वितरण गर्ने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ