बोसिगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङमा आगलागीबाट भएको क्षतिको विवरण संकलन हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल बोसिगाउँस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ केन्द्रमा शुक्रबार बिहान भएको आगलागीबाट पुगेको क्षतिको विवरण संकलन जारी रहेको छ ।

मध्यरात करिब १ बजेबाट सल्किएको आगो सात वटा दमकल, करिब १५ वटा पानी ट्यांकर समेतको प्रयोगमा सुरक्षाकर्मी तथा स्थानीयबासीको सहयोगमा बिहान पाैने ५ बजेपछि नियन्त्रणमा आएको थियो ।

पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको सो केन्द्रमा आगलागीबाट सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन् भने टहरा समेत क्षतिग्रस्त भएका छन् । ढुवानी गर्न तयारी अवस्थामा रहेको करिब ६५ लाख रुपैयाँ बराबरको सामाग्री समेत आगलागीबाट जलेर नष्ट भएको छ । आगलागीबाट प्रेसर हाइड्रोलिक मेसिन समेत पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । केन्द्रमा आगलागीबाट भएको क्षतिको थप विवरण संकलनको कार्य जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

सो केन्द्रमा कबाड सामाग्रीलाई प्रकृति अनुसार वर्गीकरण गरी पुनःप्रयोगका लागि प्याकेजिङ हुँदै आएको थियो ।

आगलागीको कारण थाहा हुन नसकेपनि सर्ट सर्किटका कारण सो घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसैबीच बागमती प्रदेश सभा सदस्यद्वय रमा आलेमगर तथा यमुनादेवी श्रेष्ठले आगलागीबाट क्षतिग्रस्त बनेको आरएमबी प्लाष्टिक प्याकेजिङ केन्द्रको वस्तुस्थिति बुझेका छन् । शुक्रबार दिउँसो प्रदेश सांसद् द्वयले घटनास्थलमा पुगी आगलागीबाट भएको क्षतिको बारेमा केन्द्रका सञ्चालकसँग जानकारी लिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *