सान कलेज चन्द्रागिरि नगरकै सान हुनेछ- नगरप्रमुख घनश्याम गिरी

Thankot Times

थानकोट ।

नैकापस्थित सान ईन्टरनेशनल कलेजले स्थापनाको रजत जयन्ती मनाएको छ । 

शनिबार चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायतको उपस्थितिमा आयोजित एक समारोहका बीच क्याम्पसले स्थापनाको २५औं वार्षिकोत्सव मनाएको हो ।

सान ईन्टरनेशनल कलेजको २५औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा मेयर घनश्याम गिरीले सान कलेज चन्द्रागिरि नगर क्षेत्रमा स्थानान्तरण भएसँगै नगरको शिक्षा क्षेत्रमा नयाँ आयाम थपिएको विचार व्यक्त गरे । नगरपालिकालाई एजुकेशन हबका रुपमा विकास गर्न निजी तथा संस्थागत शैक्षिक संस्थाको अतुलनीय योगदान रहेको बताउँदै मेयर गिरीले सान कलेजमा प्राविधिक धारका विषय अध्ययन अध्यापन हुनु नगरका लागि मात्र नभइ देशकै लागि गाैरवको विषय भएको बताए । सीपमुलक शिक्षा प्रदान गर्न सान कलेजको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले चन्द्रागिरि नगरका सामुदायिक विद्यालयहरूमा पनि प्राविधिक विषय पठन पाठनको क्रम सुरु भइसकेको बताए । 

यस्तै सान कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले कलेजमा नयाँ कार्यक्रम लागु भएसँगै प्राविधिक शिक्षा प्राप्तिका लागि सान कलेज उत्कृष्ठ गन्तव्य भएको धारणा राखे । उनले प्रयोगात्मक सिकाइ नै आजको आवश्यकता रहेकोले समाजलाई जुनसुकै क्षेत्रमा योगदान दिन अब सीपयुक्त शिक्षा अपरिहार्य रहेको बताए । वैदेशिक उच्च शिक्षाको विकल्पका रुपमा सान कलेजले नेपालमै विश्वस्तरीय प्राविधिक विषयहरू पठन पाठन गरिरहेको अध्यक्ष घिमिरेको भनाइ थियो । चन्द्रागिरि नगरपालिकाले चाहेमा सबै वडामा प्रविधि मैत्री सेवा उपलब्ध गराउन प्रशिक्षार्थीका रुपमा कलेजमा अध्ययनरत विद्यार्थी खटाउन कलेज तयार रहेको अध्यक्ष घिमिरेले सो क्रममा प्रतिबद्धता जनाए । 

कार्यक्रममा सान कलेजबाट पछिल्लो शैक्षिक वर्षमा कक्षा १२, स्नातक तह तथा स्नातकोत्तर तह उत्तीर्ण सयाैं विद्यार्थीहरू दीक्षित गरिएका थिए । सो क्रममा पछिल्लो एक वर्षमा क्याम्पसले सञ्चालन गरेका विभिन्न गतिविधिमा उत्कृष्ठ भएका विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *