आजको माैसम पूर्वानुमानः चट्याङसहित वर्षा हुने, हवाई सेवा प्रभावित हुने

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ ।

केही भू-भागमा हिमपातको पनि सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदली रहेको छ ।

विभागले दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । “काठमाडौंमा आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा वर्षाको सम्भावना छ,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन्, “ठूलो वर्षा नभए पनि हल्का वर्षाको सम्भावना छ । काठमाडौंका सबै स्थानमा वर्षा नभए पनि केही ठाउँमा वर्षा हुनेछ ।”

प्रि–मनसुनमा स्थानीय वायु सक्रिय भएर वर्षा हुने सम्भावना उच्च हुने र यसलाई सामान्य मानिने उनको भनाइ छ । अपराह्नपछि प्रि–मनसुनमा वर्षा हुनुलाई समान्य मान्नुपर्ने उनी बताउँछन् ।

“यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्छ,” विभागले भनेको छ, “त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह छ ।”

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *