नागढुङ्गा सुरुङमार्ग सञ्चालन निर्देशिका जारी, सुरुङ मार्गमा पैदल यात्री र मोटरसाइकल रोक
थानकोट ।
भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुलुककै पहिलो आधुनिक सुरुङ मार्ग सञ्चालनका लागि निर्देशिका जारी गरेको छ ।
गत चैत्र २५ मा सो निर्देशिका जारी भएको हो ।
५ पृष्ठको सो निर्देशिकामा सुरुङ मार्ग सञ्चालनमा आएपछि पालना गर्नुपर्ने नियम लगायतका विषय समावेश छन् ।
जसअनुसार सुरुङ मार्गको सडकमा सवारीसाधनले अधिकतम वेग (स्पीड) ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हुँइकिन पाउनेछन् ।
निश्चित स्थान बाहेक सवारीसाधनले ओभरटेक गर्न नपाउने नियम समेत सो निर्देशिकामा उल्लेख छ । यस्तै हर्नको प्रयोग, सवारी साधन रोक्न नहुने, लगायतका विषयले समेत निर्देशिकामा स्थान पाएको छ ।
सुरुङ मार्गमा पैदलयात्रीको प्रवेश निषेध तथा दुई पाँग्रे र तीन पाँग्रे सवारीसाधनलाई प्रवेशमा राेक लगाउने विषय साे निर्देशिकामा उल्लेख छ।
यस्तै, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, लम्बाई १८ मिटर, चाैडा ई २.५ मिटर र उचाई ४.७५ मिटर भन्दा अग्ला सवारी साधनलाई समेत सुरुङ मार्गमा प्रवेश गर्न राेक लगाइने छ ।
निर्देशिकामा उल्लेख भएका बुँदा पालना नगर्ने सवारी साधनलाई सो सडक यात्रामा प्रतिबन्ध लगाउने व्यवस्था समेत रहेको जनाइएको छ ।
काठमाडाैको चन्द्रागिरि नगर र धादिङको धुनिवेशी नगरमा हाल दुई हजार छ सय ६७ मिटर लामो सुरुङको अन्तिम फिनिसिङको कार्य जारी छ ।
काम सुरु भएको ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झाैतासहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए ।
तर, पटकपटक म्याद थपिँदा पनि सुरुङ मार्ग नयाँ मिति २०८२ कार्तिक महिनाबाट सञ्चालनमा आउनेमा विश्वस्त भइ हाल्ने अवस्था छैन् ।
सो सुरुङ मार्ग प्रयोग बापतको शुल्कका सन्दर्भमा कुनै ठोस निर्णय सार्वजनिनक भइसकेको छैन् ।

फाइल फोटो, जीवन नेपाल












