२९ दिनपछि चन्द्रागिरिका सामुदायिक विद्यालयमा पनि चहलपहल, पठनपाठन सुरु
थानकोट ।
देशभरका शिक्षक, कर्मचारीहरूले आन्दोलन गरेको २९ दिनपछि सामुदायिक विद्यालय खुलेका छन्।
बुधबार राती नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएपछि शुक्रबारबाट शिक्षकहरू विद्यालयमा फर्किएका हुन्।
बिहीबार अन्तराष्ट्रिय मजदुर दिवस परेका कारण शुक्रबारबाट सामुदायिक विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूको चहलपहल सुरु भएको हो ।
नयाँ शैक्षिक वर्ष सुरु भएसँगै अभिभावकहरू बालबच्चा भर्ना गर्न विद्यालय पुगेका छन् ।
शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा शिक्षकहरू थिए। सरकारले समयमा उनीहरुको माग पूरा नगर्दा र यही आन्दोलनका कारण यस वर्षको नयाँ शैक्षिक सत्रमै असर पुग्यो। भर्ना अभियान पनि प्रभावित बन्यो। पठनपाठन भएन। यसकारण अभिभावक र विद्यार्थीहरू चिन्तित थिए
तर,अब भने रोकिएको ठाउँमा भर्ना अभियान सुचारु गरे लगत्तै पठनपाठन पनि सुरु हुने छ। बुधबार बेलुका सहमति भएलगत्तै आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बुधबारको दिनबाटै लागू हुने गरी आम शैक्षिक हड्ताल र सडक प्रदर्शन फिर्ता लिएको बताएका थिए।
उनले भने बुधबार भने,‘आजबाटै रोकिएको भर्ना अभियान,पठनपाठन र परीक्षा थाल्न सबैमा अनुरोध छ।’ यही सहमतिपछि बिहीबार बिहानैदेखि काठमाडौंको आन्दोलनमा आएका शिक्षकहरू आ-आफ्नो घर फर्किन थालेका थिए । कोही फर्किर्ने तयारीमा छन्। दैनिक ११ बजेदेखि ३ बजेसम्म तातिएको माइतीघर-नयाँ बानेश्वर सडक क्षेत्र बिहीबारदेखि सामान्य अवस्थामा फर्किएको छ ।
कक्षा १२ को परीक्षा २१ गतेबाट हुने
यो सहमति भएसँगै कक्षा १२ को परीक्षा पनि वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ।
शिक्षक आन्दोलनकै कारण वैशाख ११ गते शुरु हुने कक्षा १२ को परीक्षा रोकिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारीहरूकै सहभागितामा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भने पनि सकेन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शिक्षकहरूलाई परीक्षामा सहभागी भएर सहयोग गर्न आग्रह गरेका थिए।
तर शिक्षकहरूले बहिष्कार गरे। त्यसपछि कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने परीक्षा बोर्डले निर्णय गरेको थियो। उक्त परीक्षाको लागि बोर्डले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ। सरकारले सबै परीक्षार्थीहरूलाई परीक्षाको लागि तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ।
विदाको दिनमा पठाएर शैक्षिक क्षति पुरा गर्छौ : महासंघ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले यो आन्दोलनका कारण भएको शैक्षिक क्षतिलाई पूरा गर्ने बताएका छन्। उनले विदाको दिनमा पढाएर भए पनि शैक्षिक सत्रलाई असर पुर्याउन नदिने बताए।
उनले भने,‘जति दिन पढाउने बेला आन्दोलन कार्य गर्याैँ, ती शैक्षिक क्षति विदाको दिनमा पढाएर उपयोग गर्छौ, महासंघले औपचारिक रुपमा पत्राचार नै गरेर सबै शिक्षकहरूलाई जानकारी गराउने छ, यो हाम्रो जिम्मा हो।’
शिक्षकहरूले आन्दोलन गरेसँगै बन्द रहेका चन्द्रागिरि नगरका सबै सामुदायिक विद्यालयहरूमा शुक्रबारबाट नयाँ शैक्षिक वर्षको पहिलो दिन शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको चहलपहल सुरु भएको छ । चन्द्रागिरिमा २४ वटा सामुदायिक विद्यालय छन् जसमा करिब ४५० जना शिक्षक, कर्मचारी कार्यरत छन् । यी विद्यालयमा गतवर्ष करिब ११ हजार जना विद्यार्थी अध्ययनरत रहेको नगरको शिक्षा शाखाले जनाएको छ ।
चन्द्रागिरि नगरका गत वर्ष करिब १ सय संस्थागत विद्यालयमा करिब २४ हजार जना विद्यार्थी अध्ययनरत थिए । जहाँ करिब २ हजार जना शिक्षक, कर्मचारी कार्यरत छन् । यद्यपी यसको स्वतन्त्र पुष्टी हुन सकेको छैन् ।
नयाँ शैक्षिक वर्ष सुरु हुनै लाग्दा लगातार विद्यालय बन्द भएपछि अभिभावकले संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गराएपछि यसवर्ष चन्द्रागिरि नगरका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या केही कम हुने अनुमान गरिएको छ ।














