ललितपुरमा गोदावरी मेयर कप शुरु, उद्घाटन खेलमा महालक्ष्मीको पोष्टमा गोदावरीको ६ गोल

Thankot Times

थानकोट ।

दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गोदावरी नगरपालिका विजयी भएको छ । गोदावरी नगरपालिकाको आयोजनामा वडा नम्बर १० स्थित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा गोदावरीले महालक्ष्मी नगरपालिकालाई ६ –१ को गोल अन्तरमा हराउँदै विजयी शुरूवात गरेको हो ।

गोदावरीको जितमा खेलको म्यान अफ दि म्याच भएका अरुण लामाले ४ गोल गरे ।

उनले पहिलो हाफ र दोस्रो हाफ दुबैमा २ मिनेटको अन्तरमा २-२ गोल गर्न सफल भएका थिए ।
अर्को एक गोल पासाङ लामाले गर्दा थप एक गोल सान्त्वना उपहार पायो ।

खेलको अन्तिम समयमा आएर महालक्ष्मीले सान्त्वना गोल फर्कायो । रोनेश राउतले एक गोल फर्काएपनि पहिलो संस्करणको इतिहास दोहोर्याउन महालक्ष्मी असफल भयो ।

पहिलो संस्करणमा गोदावरी महालक्ष्मीसँग पराजित भएको थियो । शनिबारको जितसँगै समूह ए बाट गोदावरी नगरपालिकाले ३ अंक बटुलेको छ ।

शनिबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेको गोदावरी मेयर कप फुटबल आगामी जेठ ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा उपत्यकाभित्रका मा १३ वटा पालिकाको सहभागिता रहेको छ ।

४ वटा समूहका समूहविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ ।

अनुशासित टिमलाई ५० हजार प्रदान गरिँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले काठमाडाैं उपत्यकामा नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उद्देश्यले अन्तरपालिका फुटबलको आयोजना गरिएको बताए ।

समुह ए

ललितपुरका ४ वटा पालिका एकै समूहमा परेका छन् । महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका र बाग्मती गाउँपालिका ।

समुह बी

समूह बी मा भक्तपुरका दुवै पालिका परेका छन् ।

३ टिम रहेको समूहमा मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकासँगै काठमाडौँ महानगरपालिका रहेका छन् ।

अघिल्लो संस्करणमा काठमाडौं महानगरले उपाधि जितेको थियो । 

समुह सी

समुह सीमा कागेश्वरी मनोहरा नगरपालिका, दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिका परेका छन् । चन्द्रागिरि साविक उपविजेता टोली हो ।

गत महिना सम्पन्न काठमाडाैं जिसस कपमा दक्षिणकालीले चन्द्रागिरिको चुनाैती पन्छाउँदै उपाधि जितेको थियो । 

समुह डी

कीर्तिपुर नगरपालिका, तारकेश्वर नगरपालिका र कोन्ज्योसोम गाउँपालिका 

प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाले बैशाख २४ गते दिउँसो ३ः३० बजे कागेश्वरी मनोहरा नगरपालिकाको सामना गर्ने तालिका रहेको छ । यस्तै बैशाख २६ गते दिउँसो ३ः३० बजे दक्षिणकाली र चन्द्रागिरि नगरबीच खेल हुनेछ ।

प्रतियोगिता अन्तर्गत आज आइतबार समुह ए का ललितपुर महानगरपलिका र बागमती गाउँपालिकाबीच खेल हुने तालिका रहेको छ ।

यो खेल मध्यान्ह १२ः१५ बजेबाट सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *