काठमाडाैंमा शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप
थानकोट।
काठमाडौँको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि बाल यौन दुर्व्यवहारको आरोप लागेको छ ।
सांकेतिक नाम ‘बानेश्वर २६(६४) क’ लाई पटक–पटक बाल यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाको मौखिक जाहेरीका आधारमा नयाँ बानेश्वर प्रहरी वृत्तले ५४ वर्षीय टीकाप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएको छ । उनी विद्यालयको प्रशासनतर्फ परीक्षा विभागमा कार्यरत रहेको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार मोरङको बेलबारी नगरपालिका घर भई काठमाडौँको कागेश्वरी मनोहरामा बस्दै आएका सुवेदी सो विद्यालयमा करिब १२ वर्षदेखि कार्यरत थिए ।
छोरीको पढाइको सवाल छ भनेर प्रभावित पार्ने र टर्मिनेट गर्दिन्छु भनेर स्कुलले दबाब दिई शुक्रबार मिलापत्र गर्न लगाएको उनले बताइन् । बेबीलोनका फाउन्डर तथा प्रिन्सिपल राजु राईसहितले मिलापत्र कागजमा हस्ताक्षर गर्न दबाब दिएको उनको भनाइ छ ।
‘पढाइको सवाल छ भनेर शुक्रबार मात्र धम्की दिई जबरजस्ती मिलापत्र गर्न लगाइएको थियो । प्रिन्सिपल र चेयरमेनसहित १०–१२ जना थिए । कानुन व्यवसायीहरू पनि आएका थिए,’ उनले भनिन् ।
यद्यपि प्रिन्सिपल राईले भने विद्यालयले मिलापत्रका लागि दबाब दिएको सत्य नभएको दाबी गरेका छन् । ‘प्रहरीले बोलाएपछि कर्मचारीलाई जिम्मा लगाएर आएका हौँ । दुर्व्यवहारको घटनामा हामी गम्भीर हुन्छौँ भनेका छौँ,’ उनले भने, ‘उहाँ (पीडित) की आमाले उक्त घटनाबारे बताएपछि हामीले आन्तरिक छानबिन गर्छौँ, दुर्व्यवहारका विषयमा गम्भीर छौँ भनेका हौँ ।’ दुई वर्ष अघिदेखि पीडितकी आमा र ती कर्मचारीबिच विवाद रहेकाले सो आरोप लगाएको हुनसक्ने दाबी राईले गरे । ‘हामीले सामान्य हेर्दा उहाँ (सुवेदी)ले परीक्षा हेर्ने भएकाले दुई वर्षअघिदेखि कन्फ्लिक्ट सुरु भएको देखिन्छ, थर बदल्न खोज्दा डिस्कस भएको देखिन्छ । त्यही डिसकसलाई इगोका रूपमा लिएर यहाँसम्म पुगेको र ब्याड टचको आरोप लगाएको हो जस्तो देखिन्छ,’ उनले भने । अन्य बालिकालाई पनि दुर्व्यवहार गरेको आरोप लागेको विषयमा सोध्दा पीडितकी आमाले त्यस्तो ‘प्लटिङ’ गरेको आरोप राईको छ ।
शुक्रबार मिलापत्र गरेको बताएकी पीडितकी आमाले शनिबार पुनः प्रहरीमा लिखित किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरीमा सुवेदीले ती किशोरीलाई जस्तै अन्य विद्यार्थीलाई पनि बाल यौन दुर्व्यवहार गरेको दाबी गरिएको छ । जाहेरीमा पीडितका साथीहरूले पठाएको मेसेज स्क्रिन सर्ट समेत सबुद प्रमाणका रूपमा पेस गरिएको उल्लेख गरिएको छ ।
सुवेदीलाई मुलुकी अपराध संहिता २०७४ दफा २२५ बमोजिम बाल यौन दुर्व्यवहार कसुरमा कारबाही गर्न माग गरिएको छ । उक्त व्यवस्थाअनुसार सुवेदी दोषी ठहर भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।













