गोदावरी मेयर कप फुटबलः आजका लागि निर्धारित चन्द्रागिरि र कागेश्वरीबीचको खेल स्थगित
थानकोट ।
ललितपुरको गोदावरीमा जारी गोदावरी नगरपालिका अन्तर पालिका उपत्यकाव्यापी खुल्ला मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आजका लागि पूर्वनिर्धारित चन्द्रागिरि नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबीचको खेल स्थगित भएको छ ।
निरन्तरको वर्षापछि खेलस्थल गोदावरी रंगशाला हिलाम्मे भएपछि अन्यत्र मैदान खेल सञ्चालन हुँदा पूर्वनिर्धारित खेल तालिका प्रभावित भएको जनाइएको छ ।
प्रतियोगिता अन्तर्गत आज बुधबार समुह ए मा रहेका बागमती गाउँपालिका र महालक्ष्मी नगरपालिकाबीच खेल हुने गोदावरी नगरपालिकाले जनाएको छ, यो खेल च्यासलस्थित फुटबल मैदानमा हुनेछ । खेल बिहान ८ बजेबाट सुरु हुने तालिका बनाइएको छ । पूर्व निर्धारित तालिका अनुसार यो खेल हिजो (मंगलबार) हुनुपर्ने थियो ।
महालक्ष्मीले पहिलो खेलमा आयोजक गोदावरी नगरपालिकासँग ६-१ को हार व्यहोरेको थियो भने बागमतीले पहिलो खेलमा ललितपुर महानगरसँग ७-३ को हार व्यहोरेको थियो ।
समुहमा सी मा रहेका चन्द्रागिरि नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबीचको खेल तालिका शिघ्र सार्वजनिक हुने आयोजकले जनाएको छ । यो समुहको पहिलो खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरीको चुनाैती ५-० ले पन्छाउँदै महत्वपूर्ण ३ अंक हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न कोन्जोसोम गाउँपालिका र तारकेश्वर नगरपालिकाबीचको खेल समान १-१ गोलको बराबरीमा सकिएको थियो ।













