बसुन्धरास्थित वि.पी. स्मृति अस्पताललाई ५० हजार जरिवाना
थानकोट ।
महानगरपालिकाले बसुन्धरास्थित वि.पी. स्मृति अस्पताललाई ५० हजार जरिवाना गराएको छ।
त्यहाँ उत्पादन भएको हानिकारक फोहर निर्मलीकरण नगरी सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध फैलिँदा पनि फोहर राख्ने जस्ता लापरबाही गरेपछि महानगरपालिकाले जरिवाना गराएको हो।
फोहर रोक्का गरेर पटक-पटक व्यवस्थापनको अनुरोध गर्दा पनि बेवास्ता गरेपछि जरिवानाको पत्र पठाइएको महानगरपालिकाले जनाएको छ।
स्थानीयले महानगरपालिकाको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकाले नियन्त्रण गर्न अनुरोध गरेका थिए।
सेन्टरले केस नम्बर ३४,१३५ मा गुनासो टिपेर कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभागका पठाएको थियो।
गुनासोकर्ताले गएको सोमबार गुनासो दर्ता गराएका थिए।
त्यस लगत्तै कामपा वातावरण विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधिले अनुगमन गरेका थिए।
व्यवस्थित रुपले फोहोरको व्यवस्थापन गरिएको नपाइएपछि जरिवाना पत्र पठाएको विभागले जनाएको छ। उक्त अस्पतालको फोहर टोखाको हिमालयन प्रालिले संकलन गर्ने गरेको छ।
अनुगमनका क्रममा वरिष्ठ अधिकृत महर्जनले महानगरपालिकाले हुन्छ नभनेसम्म फोहर संकलन नगर्न पनि निर्देशन दिएकी छिन्।












