पाकिस्तानी सेनाका उच्च अधिकारीसम्मिलित टोली अहिले बिहान चन्द्रागिरि आउँदै
थानकोट ।
नेपाली सेनाको व्यवस्थापन र नेपाल सरकारको स्वीकृतिबाट हाल नेपालमा रहेका ११ जना पाकिस्तानी र १ जना अमेरिकीसहित १२ जना सैनिक शिक्षार्थी बैशाख २१ गतेबाट नेपालमा छन्।
सो टोली शुक्रबार स्वदेश फर्किने तालिका रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिले बाहिर हल्ला आएजस्तो पाकिस्तानी सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको होइन । एक अमेरिकीसहित १२ जना शिक्षार्थीले नेशनल डिफेन्स तालिम अन्तर्गतकै प्याकेजमा पर्ने कन्ट्री भिजिट गरेका हुन् ।
कर्णेल तहका ती शिक्षार्थीहरूको सबै व्यवस्थापन नेपाली सेनाले गर्ने र नियमित कोर्षकैअन्तर्गत भ्रमण आदान-प्रदान हुने प्रवक्ता केसीले बताए । विभिन्न देश छानेर शिक्षार्थीहरूलाई पठाउने क्रममा १२ जना नेपालमा परेका हुन् । यसको तयारी ३ महिनाअघि नै भएकाले अहिलेको भारत-पाक तनावसँग सम्बन्ध नरहेको सेनाले प्रष्ट पारेको छ ।
नेपाल र पाकिस्तानबीच लामो समयदेखि सैन्य तालिम आदान-प्रदान हुने गरेको छ । पाकिस्तानको नेशन डिफेन्स युनिभर्सिंटीमा नेपाली सेनाका अधिकृतहरूले कोर्ष गर्न जान्छन् । यो कोर्षको सैनिक वृत्ति विकासमा महत्व रहेको छ । नेपाली सेनाका पूर्वसेनापति रुक्माङ्गद कटवाल,गौरवशम्सेर जबरा पनि इस्लामावादको नेशनल डिफेन्स युनिभर्सिटीका पूर्वशिक्षार्थी हुन् ।
मन्सुर अन्सारीको नेतृत्वको सो टोली शुक्रबार बिहान करिब ८ बजे चन्द्रागिरि हिल्स आउने कार्यक्रम रहेको छ । उनीहरू मध्यान्ह चन्द्रागिरिबाट होटल फर्कने बताइएको छ ।
भारत पाकिस्तानबीच तनाव बढ्दै गएको सन्दर्भमा भएको पाकिस्तानी सैनिक टोलीको भ्रमणलाई लिएर संसदमा समेत बहस भएको थियो ।













