गोदावरी मेयर कप फुटबलः चन्द्रागिरि नगरले भोलि बिहान ८ बजे दक्षिणकालीको सामना गर्ने
थानकोट ।
गत बैशाख २० गतेबाट ललितपुरमा जारी दोश्रो गोदावरी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत भोलि शनिबार साबिक उपविजेता चन्द्रागिरि नगरपालिकाले समुह चरणको दोश्रो तथा अन्तिम खेल खेल्दैछ ।
स्थानीय गोदावरी रंगशालामा बिहान ८ः१५ बजेबाट सुरु हुने समुह सीको अन्तिम खेलमा चन्द्रागिरि नगरपालिकाले दक्षिणकाली नगरपालिकाको सामना गर्ने तालिका रहेको छ ।
यसअघि निर्धारित खेल तालिका वर्षाका कारण खेलहरू प्रभावित हुँदा अदल बदल भएपछि भोलि बिहान यी दुईबीच खेल हुन लागेको हो ।
यसअघि सम्पन्न समुह चरणको पहिलो खेलमा दक्षिणकालीले कागेश्वरी मनोहरालाई ५-० ले पराजित गरेको थियो भने चन्द्रागिरिले कागेश्वरीलाई नै बिहीबार ४-० ले पराजित गरेको थियो । लगातार दोश्रो हार व्यहोरेको कागेश्वरी प्रतियोगिताबाट बाहिरिसकेको छ ।
समुहको विजेता सेमीफाइनलमा प्रवेश गर्ने समीकरण भएका कारण शनिबार हुने खेलमा दक्षिणकाली नगरपालिका बराबरी मात्रैको नतिजाले पनि गोल अन्तरका कारण चन्द्रागिरि भन्दा अघि रहेका कारण अघिल्लो चरण प्रवेश गर्नेछ । चन्द्रागिरि नगरका लागि भने प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि भोलिको खेल जित्नुको विकल्प छैन ।
शनिबार नै गोदावरी बहुउद्देश्यीय रंगशालामा हुने दिनको दोश्रो खेलमा मध्यान्ह १२ः१५ बजे महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दिनको तेस्रो खेलमा बागमती गाउँपालिका र आयोजक गोदावरी नगरपालिकाबीच मध्यान्ह १२ः१५ बजे च्यासल रंगशालामा गोदावरी रंगशालामा खेल हुनेछ ।
दिनको चाैथो तथा अन्तिम खेलमा अपरान्ह ४ बजे मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच गोदावरी रंगशालामा खेल हुनेछ ।
पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा काठमाडाैं उपत्यकाका विभिन्न १३ स्थानीय तहले भाग लिएका छन्।













