कस्ताे रहला आज दिनभरकाे माैसम ?

Thankot Times

थानकोट ।

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना छ ।

काठमाडौंमा भने आज वर्षाको सम्भावना न्यून रहेको छ । “काठमाडौंमा आज वर्षाको सम्भावना न्यून छ । दिउँसो मौसम सफा रहे पनि साँझपख भने बदली हुनेछ,” मौसमविद् प्रतिभा मानन्धरले भनिन् ।

उनका अनुसार काठमाडौंमा आज अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको छ । मौसमविद् मानन्धरका अनुसार हिजो काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस थियो ।

विभागले राति कोसीप्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *