चन्द्रागिरि अन्तर विद्यालय चित्रकलामा सतुङ्गलस्थित एम्ब्रोसिया आइडियलकी जेसिका प्रथम
थानकोट ।
अधिवाह नेपाल र ब्राइट एन्जल्स स्कुलको संयुक्त आयोजनामा शनिबार चन्द्रागिरि नगरपालिकामा सम्पन्न विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा सतुङ्गलस्थित एम्ब्रोसिया आइडियल स्कुलकी जेसिका श्रेष्ठ प्रथम भएकी छन् ।
हाम्राे संस्कृति शीर्षकमा सञ्चालित प्रतियोगितामा चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न ३५ वटा विद्यालयका ७० जना विद्यार्थीले भाग लिएका थिए ।
जसमा श्रेष्ठले कोरेको चित्र निर्णायकहरू सुन्दर विष्ट, हरेराम चाैधरी र लाक्पा गेलु शेर्पाले पहिलो भएको निष्कर्ष निकालेका हुन् ।
२ घण्टा ३० मिनेटको समयसीमा दिएर सञ्चालन भएको प्रतियोगितामा मातातिर्थ एन्जल गार्डेन मन्टेश्वरीकी रूद गुरुङ दोश्रो हुँदा नैकापस्थित मदरल्याण्ड स्कुलकी दृष्मा श्रेष्ठ तेस्रो भइन् ।
किड्स प्लानेट मन्टेश्वरीकी रिन्चिन तामाङ र ब्राइट एन्जल्सका आरोन लुँइटेलले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने सहभागी विद्यार्थीले क्रमश ५ हजार रूपैयाँ, २ हजार ५ सय रूपैयाँ, १ हजार ५ सय रुपैयाँ र १ हजार रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाए।
विजयी तथा कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूलाई चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, समाजसेवी देवेन्द्र प्रधान लगायतले पुरस्कार वितरण गरेका थिए ।
राष्ट्रिय र अन्तराष्ट्रिय मान्यतामा आधारित भएर सहभागीको चित्रकलाको मूल्यांकन गरिएको आर्टशाला नेपालका संस्थापक समेत रहेका निर्णायक सुन्दर विष्टले जनाए ।
यसैबीच समाजका विभिन्न क्षेत्रमा याेगदान पुर्याउने चार जना व्यक्तित्वलाई अधिवाह नेपालले शनिबार नै सम्मान गरेको छ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी लगायतले सम्मानित व्यक्तित्वलाई कदर पत्र तथा दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मानित हुनेहरुमा प्रभात माविका पूर्व प्रधानाध्यापक एवं समाजसेवी सुरेन्द्रबहादुर खड्का, वरिष्ठ दन्त चिकित्सक डा.सुभाष घिमिरे, मार्सल आर्ट्स प्रशिक्षक तथा वीरकृष्ण महर्जन र खेलाडी वृनिष महर्जन छन् ।
शिक्षा क्षेत्रमा पुर्याउनु भएको याेगदानकाे कदर गर्दै खड्कालाई सम्मान गरिएको हाे । यस्तै, स्वास्थ्यका क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै वरिष्ठ दन्त चिकित्सक डा. घिमिरेलाई सम्मान गरिएका हुन् ।
विश्व वुदाे मार्सल आर्ट्समा पुर्याएकाे याेगदानकाे कदर गर्दै वीरकृष्ण महर्जन सम्मानित भएका हुन भने विश्व वुदाे मार्सल आर्ट्समा ३० केजी ताैल समुहमा स्वर्ण पदक विजेता खेलाडी वृनिष महर्जन शनिबार सम्मानित भए ।













