महिला टी-२० विश्वकप छनोट: वर्षाले प्रभावित खेलमा हङकङसँग नेपाल पराजित
थानकोट ।
जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।
समूह सी मा नेपालको यो पहिलो हार हो भने हङकङको पहिलो जित हो ।
वेटआउटफिल्डका ५ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । हङकङका लागि ओपनर शानजिन शाहजादले अविजित रहँदै १५ रन जोडिन् । १२ बल खेलेकी उनले १ छक्का पनि प्रहार गरिन् । मारिको हिलले ११ बलमा ११ रन बनाइन् ।
नेपालका लागि कविता कुँवरले १.३ ओभरमा ५ रन खर्चेर २ विकेट लिइन् । पुजा महतो महँगो बलर बनिन् । उनले २ ओभरमा १९ रन खर्चिइन् ।
जितपछि हङकङ ३ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लेको छ भने समान खेलबाट ३ अंकसहित नेपाल दोस्रो स्थानमा छ । यस हारपछि समूह विजेता बनेर सुपर थ्री मा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।
अब नेपाल र हङकङ दुवैले बहराइनसँग खेल्न बाँकी छ । नेपालले शीर्ष स्थानमा रहन बहराइनलाई हराउनैपर्नेछ भने हङकङ र बहराइनबीचको खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।
नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ ।
छनोटमा ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ९ टिमलाई ३ समूहमा विभाजन गरेर डबल राउण्ड रोविन प्रणालीमा खेल खेलाइएको छ ।
तीनवटै समूहको शीर्ष स्थानमा रहने टोली सुपर थ्री चरणमा पुग्नेछन् । सुपर थ्रीमा तीन टिमबीच एकआपसमा खेल हुनेछ र शीर्ष दुई टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।













