गोदावरी नगरपालिका मेयर कप फुटबलः काठमाडौं महानगरपालिका फाइनलमा
थानकोट ।
काठमाडौं महानगरपालिकाको फुटबल टिम गोदावरी मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर नगरपालिकालाई ३-० ले पराजित गर्दै महानगरको टोली ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको हो ।
गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेलमैदानमा मंगलबार भएको खेलमा महानगरपालिकाका लागि राजकुमार पौडेलले पहिलो गोल र त्यसपछि मनीष सेढाईंले लगातार दुई गोल गरेका थिए ।
महानगरपालिका ‘समूह बी’बाट र कीर्तिपुर ‘समूह डी’बाट सेमिफाइनल खेलमा पुगेका थिए ।
सेमिफाइनलको अर्को खेल आज ‘समूह ए’ र ‘समूह सी’का विजेताहरू आयोजक गोदावरी नगरपालिका र काठमाडौंको दक्षिणकाली नगरपालिकाबीच हुनेछ ।
यस खेलका विजेता टिम र काठमाडौं महानगरपालिकाको टिमबिच आउँदो शुक्रबार फाइनल खेल हुने तालिका छ ।
विजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ ।
काठमाडाैं महानगर साबिक विजेता हो भने चन्द्रागिरि साबिक उपविजेता थियो ।
प्रतियोगितामा काठमाडाैं उपत्यकाका २१ मध्ये १३ स्थानीयका फुटबल टोलीले सहभागिता जनाएका थिए । चन्द्रागिरि नगरपालिका प्रतियोगितामा १ खेलमा जित र १ खेलमा हार व्यहोर्दै समुह चरणबाटै घर फर्कियो ।













