नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू हुँदै
थानकोट ।
नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुरू गर्दैछ ।
बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ ।
अभियानको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन् । विशेष गरेर यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने माओवादी केन्द्रले जनाएको छ ।
कूल एक हजार ७६७ किलोमिटर यो राजमार्ग केन्द्रीत अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी केन्द्रले जनाएको छ ।
यसअघि माओवादी केन्द्रले दक्षिणी तराईको हुलाकी राजमार्गकेन्द्रीत अभियान गरेको थियो ।
मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एक/एक ठाउँमा जनसभा राख्नेछन् ।
प्रत्येक जिल्ला समन्वय समितिले एक-एक स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने माओवादी केन्द्रले जनाएको छ ।
बैतडीबाट सुरु भएको अभियान आज नै डोटीको दिपायल पुगेर जनसंवादमा परिणत हुने माओवादीले जनाएको छ ।
यस्तै, जेठ ३ गते अछामको मंगलसेन जनसंवाद हुनेछ ।
जेठ ४ गते दैलेख सदरमुकाम दुल्लुमा जनसभा हुनेछ भने ५ गते जाजरकोट खलगांमा जनसंवाद तय भएको माओवादीले जनाएको छ ।
यस्तै, जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद हुनेछ भने जेठ ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थवाङमा जनसभा हुने माओवादी केन्द्रले जनाएको छ ।
जेठ ८ गते बागलुङमा जनसंवाद हुने र जेठ ९ गते पर्वतको कुश्मामा जनसंवादको कार्यक्रम तय भएको छ ।
जेठ १० गते अभियान पोखरा आइपुग्नेछ ।













