बागमती प्रदेश स्पोर्टस अवार्डः नैकापस्थित न्यू डायमण्डकी सलिनालाई लोकप्रिय खेलाडी अवार्ड

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका नैकापस्थित न्यू डायमण्ड स्पोर्ट्स एकेडेमीकी महत्वपूर्ण सदस्य तथा राष्ट्रिय भलिबल खेलाडी सलिना श्रेष्ठ बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा भलिबलतर्फ लोकप्रिय खेलाडी अवार्ड हात पार्न सफल भएकी छन् ।

अवार्डसँगै उनले ५० हजार रुपैयाँ प्राप्त गरिन्।

बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आइतबार आयोजित कार्यक्रममा विभिन्न विधा उत्कृष्ठ घोषित खेलाडी तथा प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको हो । 

अवार्डमा कार्यक्रममा यस वर्ष कूल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको हो ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेश अवार्ड कार्यक्रम पहिलो पटक आयोजना गरेको हो।

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले देशको नाम उच्च राख्न खेलकुदका माध्यमबाट खेलाडीहरुले महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । खेलाडी उत्पादन र संरचना विकासमा गरिएका लगानीलाई व्यवस्थित गर्ने गरी सरकारले नीति कार्यक्रम तयार गरेको उनले बताए ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले प्रशिक्षण केन्द्रका रुपमा खेल पूर्वाधारको विकास गर्ने बताए । खेलको पूर्वाधारलाई नियमित र निरन्तर बनाउन तथा खेलाडी उत्पादनका लागि पूर्वाधारमा लगानी बढाउँदै प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने बताए ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संघीय संरचनालाई बलियो बनाउन खेलकुद क्षेत्रले भुमिका खेलेको बताए । उनले प्रदेशको पहिचानको रुपमा खेलकुद क्षेत्र मार्फत् योगदान पुर्‍याएको बताए । खेलकुद क्षेत्रका विकास र प्रवद्र्धनबाट स्वास्थ्य, संस्कृति, पर्यटनको विकासमा समेत सहयाग पुग्ने उनको भनाई छ ।

मुख्यमन्त्री लामा, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले, खानेपानी उर्जा तथा सिंचाई मन्त्री श्याम खड्का, सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, प्रदेश युवा परिषदका सदस्य सचिव दीपक लामा लगायतले अवार्ड वितरण गरेका थिए ।

बागमती प्रदेश स्पोर्ट्स अवार्डका विजेताः

१.जित बहादुर केसी, दोलखा (एथलेटिक्स, लाइफ टाइम एचिभमेन्ट)
२. बैकुण्ठ मानन्धर, काठमाडौं (एथलेटिक्स, लाइभ टाइम एचिभमेन्ट)
३. एरिक गुरुङ, धादिङ ( कराते, उत्कृष्ट खेलाडी महिला)
४. राजन बल, मकवानपुर (खोखो, उत्कृष्ट खेलाडी पुरुष )
५.कवि राज नेगी, मकवानपुर (उत्कृष्ट प्रशिक्षक)
६. श्याम चित्रकार, काठमाडौं ( उत्कृष्ट पत्रकार)
७. आयुष घलान, मकवानपुर (फुटबल, लोकप्रिय खेलाडी)
८. सलिना श्रेष्ठ, काठमाडौं (भलिबल, लोकप्रिय खेलाडी)
९. सन्तोषी श्रेष्ठ, धादिङ ( एथलेटिक्स, लोकप्रिय खेलाडी)
१०. संगिता वैद्य, नुवाकोट (बागमतीको शान)
११. परमेशा गोवर्धन, काठमाडौं ( उत्कृष्ट पारा तेक्वान्दो खेलाडी)
१२. सदभाव आचार्य, काठमाडौं (गल्फ, युवा खेलाडी)
१३.विनोद महर्जन, ललितपुर – (उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष)


Leave a Reply

Your email address will not be published. Required fields are marked *