एसियन कराते च्याम्पियनसिपमा भाग लिने खेलाडीलाई धन बहादुर स्मृति प्रतिष्ठानले बिदाई गर्यो
थानकोट ।
उज्वेकिस्तानको तास्केन्तमा हुने २१औं एकेएफ एसियन सिनियर कराते च्याम्पियनसिपमा भाग लिने खेलाडीहरूलाई सतुङ्गलस्थित धनबहादुर स्मृति प्रतिष्ठानले बिदाई गरेको छ । प्रतिष्ठानकी प्रशिक्षार्थी सानुमाया थिङले समेत प्रतियोगितामा सहभागिता जनाउँदै छिन् ।
जेठ ९ देखि ११ गते (मे २३–२५) सम्म हुने प्रतियोगितामा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पनि सोमबार एक कार्यक्रमकाबीच शुभकामनासहित बिदाइ गरेका छन् ।
खेलाडीहरुमा सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ र एरिका गुरुङ छन् ।
पुरुषमा ५५ केजीमुनि साजन मोक्तान, ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि तेन्जिङ शेर्पा र एकल कातामा सोनिम मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । यसअघि पुरुष ७५ केजीमुनि समूहमा छनोट भएका शिबु ओड भने एसियन च्याम्पियनसिप खेल्न नजाने भएका छन् ।
यस्तै महिला एकल कातामा सानुमाया थिङ, ५० केजीमुनि अन्जली महर्जन, ५५ केजीमुनि सविना श्रेष्ठ, ६१ केजीमुनि निरुपमा तामाङ र ६८ केजीमाथि एरिका गुरुङले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली मंगलबार उज्वेकिस्तान प्रस्थान गर्नेछ ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ, प्रशिक्षकमा मन्डेकाजी श्रेष्ठ र टिम म्यानेजरमा किशोर प्रसाद भट्टराई छन् ।
एरिकाले यसअघि चीनमा भएको २०औं एसियन कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । यसअघि रजत पदक जितिसकेकोले यस पटक स्वभाविक रुपमा स्वर्ण जित्ने लक्ष्य रहेको प्रशिक्षक कुशल श्रेष्ठले बताए ।
एरिका बाहेक नेपालका अन्य खेलाडीहरु पनि राम्रो रहेकोले पदकको सम्भावना भएको श्रेष्ठले बताए ।













