मनकामना दर्शन प्रालि र युएनएफपीएबीच लैङ्गिक हिंसासम्बन्धी सचेतना अभिवृद्धिका लागि सहकार्य हुने
थानकोट ।
मुलुककै पहिलो केबलकार सेवा प्रदायक संस्था मनकामना दर्शन प्रालि र संयुक्त राष्ट्र सङ्घको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी संस्था युएनएफपीएबीच लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि र सरकारी निजी साझेदारीमार्फत समुदायको सुदृढीकरण गर्ने विषयमा सहकार्य हुने भएको छ ।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा टेवा दिने उद्देश्यमा नेपालको पर्यटन क्षेत्रको एक अग्रणी संस्था मनकामना दर्शन प्रालिले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका सम्बन्धमा सूचना सामग्री, क्षमता तथा रोजगार सहयोगको क्षेत्रमा काम गर्ने गरी मंगलबार सम्झौता गरिएको हो।
काठमाडौँमा गरिएको सम्झौतामा युएनएफपीएको तर्फबाट योन योङ हङ्ग र मनकामना दर्शन प्रा.लि.का तर्फबाट यसु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सो साझेदारीमार्फत दुवै पक्षले आगामी दुई वर्षसम्म पैरवी र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनःर्स्थापनाका निम्ति अवसरहरू प्रदान गर्दै सुरक्षित र समावेशी वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ।
मनकामना दर्शन प्रा.लि.ले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि विभिन्न स्थानमा जस्तै टिकट काट्ने स्थानहरूमा पोष्टर, पम्पलेट मार्फत सूचना सम्प्रेषण गरिने सम्झौतामा उल्लेख छ।
सूचनामार्फत आगन्तुकले हिंसा भएका खण्डमा कहाँ जानकारी प्राप्त गर्ने, कस्ता सेवा उपलब्ध हुन्छन् लगायत हिंसा भोगेका व्यक्तिका अधिकारका बारेमा जानकारी प्राप्त गर्ने छन् भने सबै पहुँचका लागि यस्ता सूचनालाई श्रव्यदृष्य सामग्री मार्फत सम्प्रेषण गरिने छ।
सचेतना र क्षमता अभिवृद्धिका बाहेक यस साझेदारी मार्फत हिंसा प्रभावितका लागि आयआर्जनको अवसर प्रदान गर्दै जीविकोपार्जनका सहयोग र समाजमा पुनर्स्थापनाका लागि स्थानीय श्रम र अन्य व्यापारिक संस्थासँग जोड्ने उद्देश्य समेत राखिएको छ।
कार्यक्रममा युएनएफपीएकी प्रतिनिधि योङ हौंगले युएनएफपीएले राखेको लक्ष्य प्राप्त गर्न निजी क्षेत्रको भूमिका बारेमा प्रकाश पारिन् ।
निजी क्षेत्र सामाजिक मर्यादा, समानता र सुरक्षाका सवालहरूसँग एकाकार हुने भन्दै उनीहरू परिवर्तनका सशक्त संवाहक बन्ने युएनएफपीएकी प्रतिनिधि हौंगले बताए ।
मनकामना दर्शन प्रा.लि.की यसु श्रेष्ठले लैङ्गिक समानता र सामाजिक उत्तरदायित्वप्रति संस्थागत प्रतिबद्धता व्यक्त गर्दै युएनएफपीएसँगको साझेदारीमा महिला, किशोरीका लागि सुरक्षित वातावरणमा काम गर्नु आफूहरूका लागि गौरवको विषय रहेको धारणा राखिन् ।
संयुक्त राष्ट्रको रुपन्तराणकारी एजेन्डा र लैङ्गिक हिंसा रोकथामका लागि राष्ट्रिय लक्ष्यहरू हासिल गर्न यस सहकार्यले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको नवीन ढाँचा दुवै संस्थाको धारणा छ ।












