जर्मन सरकारले करिब १ अर्बको लगानीमा थानकोटमा बनाइदिने स्त्रीरोग अस्पतालको टेण्डर खुल्दै
थानकोट ।
जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटस्थित गोदाम चोकस्थित नगर प्राथमिक अस्पताल नजिकै निर्माण हुन लागेको २५ शैयाको सेटेलाइट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका लागि जर्मन विकास बैँक (केएफडब्लु) ले विस्तृत ढाँचाको तयारी थालेको छ ।
बैंकले अस्पतालको प्रारम्भिक प्रारुप स्वीकृत गरेको छ, यो सँगै भवन बनाउन बोलपत्रको बाटो खुला भएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
अस्पताल भवन बनाउन चन्द्रागिरि नगरपालिका र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बीच यसअघि नै आपसी समझदारी सम्पन्न भइसकेको छ ।
तीन तल्लाको हुने सो भवन तथा अन्य संरचनाले ७ हजार १ सय ८७ दशमलव ८ वर्ग मिटर क्षेत्रफल ओगट्ने परामर्शदाता एएफपीसी जीएफए कन्सोरटियम र ए नट आर्किटेक्चर एण्ड अर्किटेक्ट्स प्रालिले जनाएको छ। यस्तै सो अस्पताल हातामा सनाठूला गरी २ सय थान सवारी साधन पार्किङ क्षमताको पार्किङ क्षेत्र निर्माण हुनेछ ।
अत्याधुनिक प्रविधिमैत्री हुने अस्पताल निर्माणका लागि ३ वर्षको समय लाग्ने परामर्शदाता कम्पनीको ठम्याइ रहेको छ ।
करिब ६० करोड रुपैयाँमा अस्पतालको बाहिरी संरचना निर्माण हुनेछ भने करिब ४० करोड रुपैयाँ बराबरको भित्री संरचना तथा उपकरणका लागि छुट्याइएको छ ।
विस्तृत प्रारुप तयार गर्नका लागि केएफडब्लुको केन्द्रीय कार्यालय जर्मनी विकास बैंकका प्रतिनिधिमण्डलले बन्न लागेको स्थानको अवलोकन एवम् चन्द्रागिरि नगरपालिकाका प्रमुख लगायत अन्य प्रतिनिधिहरुसँग छलफल समेत गरेको छ ।
बुधबार संयोजित छलफलमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहजीकरण गर्दै आएको र आगामी दिनमा सहजीकरण जारी राख्ने जानकारी दिएको उनको सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

छलफलमा केएफडब्लुका प्रतिनिधिहरु मिसेल स्वीपर, प्रा.डा. योर्क ह्युकेल्बक, रेबिक्का ट्रेइगर, निकोल आना पास्कल जिनेन र स्टुआर्ट किङ लगायतले अस्पतालका विषयमा राखेको जिज्ञासालाई नगरप्रमुखले जवाफ दिएको बताइएको छ ।
सो क्रममा चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विभिन्न शाखामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो ।
अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्याउने अपेक्षा गरिएको छ ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ ।
स्वास्थ्य मन्त्री पाैडेलद्धारा चन्द्रागिरि नगर प्राथमिक अस्पतालको निर्माणाधीन भवन निरीक्षण












