प्रधानमन्त्री ओलीले एमालेबाट वडाध्यक्ष जितेका चन्द्रागिरिका जनप्रतिनिधिसँग भेट गर्दै

Thankot Times

थानकोट ।

नेकपा एमालेको बागमती प्रदेश कमिटीले आज वडाध्यक्षहरुको भेला बोलाएको छ ।

भेलालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ ।

ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा आयोजित भेलामा बागमती प्रदेश अन्तर्गतका स्थानीय तहहरुमा एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षहरुलाई बोलाइएको छ ।

भेला आज र भोलि दुई दिन सञ्चालन हुनेछ ।

निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाध्यक्षहरुबाट एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्दै उनीहरुमा भएका अस्पष्टता र भ्रम चिर्ने प्रयास स्वरुप भेला बोलाइएको एमालेका एक नेताले बताए ।

बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यसअनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाध्यक्षहरुको भेला बोलाइएको जानकारी दिए ।

भेलामा चन्द्रागिरि नगरबाट चार जना वडाध्यक्षसमेत भेला हुँदैछन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा चन्द्रागिरि वडा नं. ६, १०, १२ र १४ नेकपा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हात पारेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *