३१ औं पटक सगरमाथाको शिखरमा कामरिता, भन्छन् -म ६० वर्षको उमेरसम्म शिखरमा जान सक्छु

Thankot Times

थानकोट ।

विश्व प्रसिद्ध सगरमाथा आरोही कामीरिता शेर्पाले आफ्नो पुरानो कीर्तिमान तोडेका छन्।

मंगलबार बिहान सगरमाथा आरोहण गरेर उनले यसअघि बनाएको आफ्नै कीर्तिमान तोडेका हुन्। कीर्तिमान तोडिएसँगै उनले नयाँ विश्व कीर्तिमान समेत कायम गरेका छन् । 

कामीरिताले २०८१ वैशाख ३० गते २९ औं पटक अनि १० दिनपछि जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए।

‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार, ३१ औं पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाई। सेभेन समिटसँगको यात्रामा।’ उनका अनुसार कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथा आरोहण गरेका थिए।

उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए।

दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए।

उता, ‘प्रख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले आज बिहान ०४ः०० बजे ३१ औं पटक सगरमाथा (८८४८.८६ मिटर) को सफल आरोहण गर्नुभएकोमा बधाई छ’ एभरेष्ट टुडेले आफ्नो ट्विटर ह्यान्डलमा लेखेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *