काठमाडौं महानगरद्धारा सुख्खा फोहाेर व्यवस्थापन गर्न क्षेत्र निर्धारण

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले सुक्खा फोहर व्यवस्थापको थप व्यवस्थित बनाउनका लागि क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम सुरुवात गरेको छ। उक्त सुक्खा फोहर बिक्रीका लागि वार्षिक ६ करोड आठ लाख ७२ हजार रूपैयाँमा ठेक्का लगाएको छ।

कामपाले ३२ वटा वडालाई जनसङ्ख्या र भूगोलको आधारमा क्षेत्र निर्धारण गरी सुक्खा फोहर व्यवस्थापनको सुरु गरेको कामपा वातावरण व्यवस्थापन विभागले जानकारी दिएको छ।

कामपाले ३२ वटै वडालाई सात क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाएको हो। यी स्थानमध्ये क्षेत्र नं ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इन्जिनियर रामप्रसाद नेपालले जानकारी दिए।

क्षेत्रमा क्रमशःसञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उनको भनाइ छ। यस क्षेत्रमा वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वडा छन्।

सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ। घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न र अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु बढाउनका लागि ३२ वटा वडालाई सात क्षेत्रमा विभाजन गरिएको छ।

ती हरेक क्षेत्रमा एकएक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न कामपाले आय ठेक्का कार्यविधि २०७९ बमोजिम सार्वजनिक सूचनाबाट आह्वान गरेको थियो। यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ। यस क्षेत्रमा वडा नं २, ३, ४, ५ र ७ पर्छन्।

क्षेत्र नं २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि जिम्मा पाएको छ जहाँ वडा नं १, ११, २८, २९ र ३० पर्छन्। क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले कबोल गरेको छ यस क्षेत्रमा वडा नं ६, ८ र ९ पर्छन्।

क्षेत्र नं ४ मा मेची पोली इष्डष्ट्रीले जिम्मा लिएको छ। यसमा वडा नं १६, १७ र २६ पर्छन्। वडा नं १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ को जिम्मा नेपाल ऊर्जा विकास कम्पनीले लिएको छ। वडा नं १०, ३१ र ३२ समेटेर क्षेत्र नं ६ तोकिएको छ। जहाँ पोली वेस्ट म्यानेजमेन्टले जिम्मा पाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *