बागमती लगायत काठमाडौं उपत्यकाका नदीहरूलाई स्वच्छ बनाइने
थानकोट ।
बागमती लगायत काठमाडौं उपत्यकाका नदीहरूलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ । बिहीबार (जेठ १५) संघीय संसद्को संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाका नदीहरूलाई स्वच्छ बनाइने उल्लेख छ ।
काठमाडौं उपत्यकाका नदी किनारका करिडोर सडकलाई विस्तार गर्दै लगिने उनले बताए । यसका निम्ति तीन अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।
बागमती स्वच्छ बनाउन आर्थिक वर्ष २०५०/५१ देखि नै बजेट विनियोजनसहित अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको स्थापना गरिए पनि अझै नदी सफा हुन सकेको छैन् ।
सरकारले आर्थिक वर्ष २०५०/५१ देखि नै विनियोजन गरेको बजेट सदुपयोग नभएकाले बागमतीलगायत काठमाडौं उपत्यकाका नदी सफा हुन नसकेको गुनासो सुनिने गरेको छ ।












