जेसिसलाई ४-३ ले पराजित गर्दै हिम शिखर बन्यो चौथो ब्राइट फ्युचर एसइइ कपको च्याम्पियन
थानकोट ।
प्रतिस्पर्धात्मक खेलमा सतुङ्गलस्थित जेसिस इन्टरनेसनल स्कुललाई ४-३ गोल अन्तरले पराजित गर्दै स्युचाटारको हिम शिखर स्कुलले चौथो ब्राइट फ्युचर एसइइ कपको उपाधि आफ्नो पोल्टामा पारेको छ ।
काठमाडाैंको पश्चिम क्षेत्रका विद्यालयहरू सहभागी भएको प्रतियोगितामा ८ टोलीले सहभागिता जनाएका थिए ।
सेमीफाइनलमा ब्राइट फ्युचरलाई पराजित गर्दै जेसिस फाइनलमा पुगेको थियो भने हिमशिखरले सेमीफाइनलमा एभर भिजनको चुनाैती पन्छाएको थियो ।
हिमशिखर स्कुलका विपिन गुरुङ र सन्देश श्रेष्ठ क्रमशः प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडी घोषित भए ।
घरेलु टोलीका ब्राइट फ्युचरका स्कुलका लुजन महर्जनले सर्वाधिक गोलकर्ताको उपाधि जिते ।
सर्वोत्कृष्ट टिमको उपाधि घरेलु टोली ब्राइट फ्युचर स्कुलले पायो। प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा युथ कोर्डिनेटर विकास नारायण श्रेष्ठ, ब्राइट फ्युचर मा.वि.का अध्यक्ष मोहनकुमार कार्की, चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष घनश्याम लुइँटेल लगायतले शनिबार नै पुरस्कार वितरण गरे ।
प्रतियोगिताका विजेता, उपविजेता तथा व्यक्तिगत विधामा सर्वोत्कृष्ठ हुने खेलाडीले नगद पुरस्कार तथा छात्रवृत्ति प्राप्त गरेका छन् ।
प्रतियोगिताको विजेताले ३५ हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाउँदा उपविजेताले २० हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाए ।
व्यक्तिगत विधामा सर्वोत्तम घोषित हुनेले जनही पाँच हजार रुपैयाँ हात पार्दा मासिक शुल्कमा शत प्रतिशत छात्रवृत्ति पाएको ब्राइट फ्युचर दश जोड २ का प्रमुख श्यामकृष्ण महर्जनले बताए ।















