चन्द्रागिरिबाट पहिलोपटक सगरमाथा चुचुरोमा पुग्ने मच्छेगाउँका विधानलाई जनस्तरबाट भव्य स्वागत
थानकोट ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल मच्छेगाउँका २६ वर्षीय विधान श्रेष्ठलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।
सगरमाथा शिखरमा पुग्ने पहिलो चन्द्रागिरिबासी भएको दाबी गरिएका श्रेष्ठलाई शनिबार बिहान स्थानीय बासीले तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा स्मरणीय स्वागत गरेका हुन् ।
सगरमाथा चुचुरोमा पुगेका स्थानीय युवालाई हेर्न झमझम वर्षा भइरहँदा चन्द्रागिरि बासीलाई कुनै परवाह थिएन् ।
विधानले मे १९ तारिखका (जेठ ५) दिन बिहान ९ बजेर २२ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।
न्युयोर्कदेखि सगरमाथा शिखरसम्म केबल ३ दिन २३ घण्टा ७ मिनेटमा श्रेष्ठले सगरमाथाको यात्रा पुरा गरे, जुन नयाँ विश्व कीर्तिमान भएको दाबी गरिएको छ ।
श्रेष्ठलाई गृह नगरमा स्वागत गर्न चन्द्रागिरि नगर उपमेयर बसन्ती श्रेष्ठ, वडाध्यक्षहरू घनश्याम लुँइटेल, अच्युत अधिकारी, श्रीकृष्ण खत्री, समाजसेवी मोहन कार्की, राजनीतिज्ञहरू धर्मनन्द श्रेष्ठ, देवेन्द्र प्रधान, उत्तम बहादुर राउत, अजय श्रेष्ठ लगायत तीनथाना पुगेका थिए ।
नेपाल सांस्कृतिक कला मन्दिरले शनिबार नै मच्छेगाउँस्थित तल्लो डबलीमा एक कार्यक्रम गरि श्रेष्ठलाई सम्मान गरेको छ ।
यसैबीच चन्द्रागिरि नगरपालिकाले सर्वोच्च शिखर आरोही नगरबासी विधान श्रेष्ठलाई सम्मान गर्ने घोषणा गरेको छ ।
शनिबार आयोजित श्रेष्ठको स्वागत कार्यक्रममा बोल्दै नगरका सामाजिक विकास समिति संयोजक एवं चन्द्रागिरि वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले नगरपालिकाले छिट्टै विशेष समारोह संयोजन गरि विधान श्रेष्ठलाई सम्मान गर्ने बताएका हुन् ।


















